×

सर्लाही । कठ्याङ्ग्रिँदो चिसो मौसमका कारण प्रभावित विद्यार्थीहरूलाई जोगाउन सर्लाहीको रामनगर गाउँपालिका – ५ मा रहेको जनता प्राथमिक विद्यालयका बालबालिकाहरूलाई शुक्रवार न्यानो कपडा वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत करिब ३८३ जना छात्रछात्राहरूलाई न्यानो ट्रयाक्सुट सेट वितरण गरिएको वडाध्यक्ष नन्दनप्रसाद यादवले जानकारी दिए । उनका अनुसार वडा स्तरीय योजनाअन्तर्गत निम्न वर्गीय समुदायका बालबालिकालाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो ।

वडाध्यक्ष यादवले भने, “जाडोबाट बच्न र बचाउन” भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो । उनका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्य र पठनपाठनमा समस्या नपरोस् भन्नका लागि कदम उठाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्दनप्रसाद यादवले वडाले चिसोको समयमा गरेको यो कदम सराहनीय रहेको बताए । “न्यानो पोसाकले बालबालिकालाई कठ्याङ्ग्रिने चिसोबाट जोगाउन सहयोग पुग्नेछ,” उनले भने ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । न्यानो कपडा पाएका विद्यार्थीहरूको अनुहारमा खुसी झल्किएको देखिन्थ्यो ।

रामनगर गाउँपालिकाको यो कार्यले चिसोका कारण अध्ययनमा समस्या भोगिरहेका बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Back to top