वीरगञ्ज । नेत्रहीन सङ्घ सर्लाहीको आयोजनामा आठौँ विश्व ब्रेल दिवस तथा ब्रेल लिपिका आविष्कारक लुइ ब्रेलको २१६औँ जन्म जयन्तीको उपलक्ष्यमा मधेस प्रदेशका दृष्टिविहीन छात्रावास स्तरीय हाजिरी जवाफ प्रतियोगिता भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
प्रतियोगितामा मधेस प्रदेशभरिका सात वटा विद्यालयका २५ जना दृष्टिविहीन विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रम बिना कुनै बाह्य प्रायोजन सङ्घकै आन्तरिक स्रोतबाट सम्पन्न गरिएको थियो ।
प्रतियोगितामा भेरोकी माध्यमिक विद्यालय, महोत्तरीका दृष्टिविहीन विद्यार्थी कन्हैया कुमार शाह प्रथम, नेपाल राष्ट्रिय मावि, बाराकी न्यून दृष्टियुक्त विद्यार्थी ऋणकु कुमारी चौधरी द्वितीय, सोही विद्यालयका दृष्टिविहीन विद्यार्थी इन्दल कुमार यादव तृतीय र सुरज पटेल चतुर्थ भएका छन् ।
विजेताहरूलाई क्रमशः दुई हजार, पन्ध्र सय, एक हजार र पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने नेत्रहीन सङ्घ सर्लाहीका कार्यकारी सदस्य एवं कार्यक्रम सञ्चालक शिवेन्द्र कुमार यादवले जानकारी गराए ।
कार्यक्रमको सफल आयोजनाका लागि नेत्रहीन सङ्घ सर्लाहीले अपाङ्गता संरक्षण नेपाल परिवार तथा त्यसका अध्यक्ष विरोध खतिवडालाई विशेष धन्यवाद प्रकट गरेको छ । दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक प्रगतिमा टेवा पुर्याउनुका साथै ब्रेल लिपिको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमले ठूलो योगदान पुर्याएको विश्वास लिइएको छ ।
नेत्रहीन सङ्घ सर्लाहीका अध्यक्ष चन्देश्वर महतोको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेत्रहीन सङ्घ नेपाल केन्द्रीय कार्यालयका महासचिव कलाधर भण्डारी रहेका थिए भने नेत्रहीन युवा सङ्घ नेपाल बारा शाखाका अध्यक्ष सुधीर चौधरी, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका पूर्व कोषाध्यक्ष एवम् सर्लाही शाखाका पूर्व अध्यक्ष विश्वनाथ ठाकुर, नेत्रहीन सङ्घ सर्लाहीका प्रमुख सल्लाहकार लक्ष्मीश्वर महतो लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।