×

सप्तरी । सप्तरी प्रहरीले सर्वसाधारणलाई पैसा डबल बनाइदिने प्रलोभनमा लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४८ वर्षीय रामबहादुर रजकलाई ठगी र आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

रजकविरुद्ध हालसम्म चार जनाले उजुरी दिएको र उनले ५० लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ । नायब उपरीक्षक बस्नेतका अनुसार रजकको गिरोहले अरू व्यक्तिसँग पनि रकम डबल बनाइदिने नाममा ठगी गरेको थप सूचना प्राप्त भएको छ ।

प्रहरीका अनुसार रजकले सर्वसाधारणलाई पैसा लगानी गरेपछि छोटो समयमै दोब्बर हुने लोभ देखाएर ठगी गरेका थिए । गिरोहको अन्य सदस्यहरूको खोजी भइरहेको छ ।

रजकविरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी कानुनी कारबाही अघि बढाइएको छ । प्रहरीका अनुसार थप अनुसन्धानको क्रममा अन्य पीडितहरू पनि आउन सक्ने सम्भावना छ ।

सप्तरी प्रहरीले यस्ता ठगी गर्ने गिरोहलाई चिन्हित गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै सर्वसाधारणलाई यस्ता प्रलोभनमा नपर्न सचेत गराएको छ ।

Back to top