सिराहा । चिसोको तीव्रताले सिराहामा एक जनाको मृत्यु भएको छ ।
पछिल्लो केही दिनयता तराई क्षेत्रमा बढेको कठ्याङ्ग्रिने जाडोले गोलबजार नगरपालिका–८ का ३५ वर्षीय मोहम्मद अक्तर अलीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार अक्तर मधुमेह रोगी थिए । न्यानो कपडा र राम्रो वासस्थानको अभावका कारण चिसो सहन नसकेर उनको मृत्यु भएको परिवारजनले बताएका छन् । उनका छोरा सलमानका अनुसार गरिबीका कारण न्यानो कपडा र सुरक्षित वासस्थानको अभावले जाडोले उनको ज्यान लिएको हो ।
चिसोको प्रभाव बढ्दै गएपछि सिराहाका विभिन्न स्थानीय तहहरूले एक सातासम्मका लागि विद्यालयहरू बन्द गरेका छन् । तराईका बासिन्दाले कठ्याङ्ग्रिने जाडोबाट जोगिन न्यानो कपडा र सुरक्षित आश्रयको अभावमा कठिनाइ भोगिरहेको स्थानीयले बताएका छन् ।
चिसोका कारणले थप मानवीय क्षति हुन नदिन स्थानीय सरकार र सङ्घसंस्थाहरूले राहतको व्यवस्था गर्नुपर्नेमा पीडित परिवारको आग्रह छ ।