×

वीरगञ्ज । नेपाली लोकसंगीतको क्षेत्रमा पाइला चाल्दै आएकी गायिका अमृता गैह्रेको ‘बिरानो जन्मघर’ सार्वजनिक भएको छ । यस गीतमा बिहे भएर कर्मघर गएकी छोरीको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । 

गीतमा अमृता गैह्रेको सुमधुर आवाज छ भने शब्द तथा संगीत स्वयं अमृता र उनका श्रीमान राजु पाठकले मिलेर तयार पारेका हुन् । गीतको एरेञ्ज, रेकर्डिङ, र मिक्सिङको जिम्मेवारी तारानाथ आचार्यले सम्हालेका छन् । यो गीत डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रा.लि. मा तयार गरिएको हो भने मिक्सिङ र मास्टरिङको काम स्टुडियो मालाश्रीका खड्का बाजुरेलीले गरेका छन् ।

भिडियो निर्देशन तारानाथ आचार्यले गरेका छन् । भिडियोमा स्वयं अमृताको मुख्य भूमिका रहेको छ । अमृताको आफ्नै बिहेको पललाई भिडियोमा समावेश गरिएको छ । जसले गीतको भावलाई अझै जीवन्त बनाइदिएको आभाष हुन्छ । यस गीत र भिडियोलाई नियाल्दा उनी गायकीसँगै अभिनयमा पनि अब्बल छिन् भन्ने आफुलाई प्रमाणित गरेकी छिन् । उनको अभिनयले गीतको भावलाई न्याय गरेको छ भने उनी अभिनयमा पूर्ण रुपमा डुबेकी छिन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

भिडियोको छायांकन अनिल कार्कीले गरेका छन् भने सम्पादन र रंग संयोजन पनि तारानाथ आचार्यकै रहेको छ ।

गीतको भावनात्मक पक्षलाई विशेष रूपमा विवाह गरेर कर्मघर गएकी छोरीलाई समर्पित गरिएको छ । जन्मघरको माया र स्मृतिहरूले ओतप्रोत यो गीत सुन्दा आँखा रसाउँछन् । 

यस गीतले लोकगीतप्रेमीहरूको मन जित्ने र नेपाली संगीत क्षेत्रमा थप सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ । गायिका अमृताले आफ्ना शुभचिन्तकहरूलाई गीतप्रति माया र आशिर्वाद दिन अपिल गरेकी छन् ।

‘बिरानो जन्मघर’ नेपाली लोकगीतलाई माया गर्ने सबैका लागि एक अनुपम उपहार बनेर आएको छ । गीत र भिडियोको उत्पादन डिजिटल स्टार प्रा.लि.ले गरेको हो । साथै, भिडियोको पोस्ट–प्रोडक्सन पनि यही स्टुडियोमा सम्पन्न भएको हो ।


 

Back to top