×

रौतहट । सङ्घीय हिन्दु लोकतन्त्रलाई प्रमुख एजेन्डा बनाउँदै राष्ट्रिय समता पार्टी नेपालको घोषणा गरिएको छ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा हजारौँको सहभागिताबिच भव्य कार्यक्रम आयोजना गरी पार्टी घोषणा गरिएको हो ।

श्रीराम जन्मभूमि भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन र भगवान् श्री रामलल्लाको प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको अवसरमा दुर्गा भगवती गाउँपालिका–२, भलोहिया स्थित श्रीराम जानकी मठ परिसरमा कार्यक्रम आयोजना गरेर पार्टी घोषणा गरिएको हो । बृहत् शोभा यात्रासहितको उल्लासमय वातावरणमा सम्पन्न कार्यक्रमले नयाँ पार्टीको औपचारिक सुरुआत गर्‍यो ।

विजय प्रकाश निषादको अध्यक्षतामा पार्टी घोषणा गरिएको छ । त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिवमा डा. अभिषेक तिवारी, प्रवक्तामा रणवीर कुशवाहा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुखमा श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्षमा विवेक शाह कानु, रौतहट जिल्लाको प्रेस विभागमा प्रमुख उमेश सर्राफ रहेका छन् ।

पार्टी घोषणा समारोह दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अथर्मेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा हजारौँ स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको पार्टीको दाबी छ ।

राष्ट्रिय समता पार्टी नेपालले सङ्घीय हिन्दु लोकतन्त्रलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माणका लागि काम गर्ने लक्ष्य लिएको बताइएको छ ।

Back to top