×

मुम्बई । बलिउड तथा गुजराती सिनेमाका चर्चित हास्य कलाकार टिकु तलसानियालाई शनिबार बिहान हृदयाघात भएको छ । उनको अवस्था चिन्ताजनक छ । अभिनेता हाल अस्पतालमा भर्ना छन् ।

मिडिया रिपोर्टका अनुसार ७० वर्षीय टिकु तलसानियाको स्वास्थ्य बिग्रिएपछि मुम्बईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई हृदयाघात भएको डाक्टरले जानकारी दिएका छन् । उनको अवस्था चिन्ताजनक भएकाले उनलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

टिकु तलसानिया भारतीय फिल्म उद्योगमा एक चर्चित नाम हो। उनले देवदास, जोडी नम्बर वन, शक्तिमान, कुली नम्बर वान, राजा हिन्दुस्तानी, दार, जुडवा, प्यार किया तो डरना क्या, राजु चाचा, मेला, अखियों से गोली मारे, हंगामा, ढोल, धमाल, स्पेशल २६ जस्ता सयौं फिल्ममा काम गरेका छन् ।

७० वर्षको उमेरमा पनि टिकु तलसानिया चलचित्र क्षेत्रमा सक्रिय छन् । उनी पछिल्लो पटक सन् २०२४ मा रिलिज भएको राजकुमार राव र तृप्ति डिमरी स्टारर फिल्म विक्की विद्या का वो वला भिडियोमा देखिएका थिए । 

टिकु तलसानियाकी छोरी शिखा तलसानिया पनि अभिनेत्री हुन् । उनी वीरे दी वेडिङ, कुली नम्बर १ र आई हेट लव स्टोरी जस्ता फिल्ममा देखा परेकी छिन् । टिकु तलसानियाका छोरा रोहन तलसानिया संगीतकार हुन् ।

Back to top