वीरगञ्ज । यातायात व्यवस्था कार्यालय पर्सा सवारी शाखाको लेखा शाखामा भएको भ्रष्टाचारका कारण कार्यालय बदनाम हुन थालेको छ। सेवाग्राहीहरूले लेखा शाखामा नगदी रसिद लिन जाँदा अतिरिक्त शुल्क तिर्न बाध्य भएको बताएका छन्।
सेवाग्राहीहरूका अनुसार, बैंकमा राजस्व रकम बुझाएपछि रसिद लिन जाँदा सहायक कम्प्युटर अपरेटरहरू रमेश पटेल, लक्ष्मीनारायण कुशवाहा, सुजित झा, बृजकिशोर यादव लगायतले प्रत्येक रसिदमा ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेका छन्। भुक्तभोगीहरूले बैंकको भौचरभित्र रकम राखेर बुझाउनुपर्ने परिस्थिति रहेको बताएका छन्।
दैनिक लाखौँको घुस असुली
सूत्रका अनुसार, सहायक कम्प्युटर अपरेटरहरूको समूहले दैनिक करिब दुई लाख रुपैयाँ घुस असुल गर्ने गरेको छ। उक्त रकमको हिसाबकिताब उमेश दासले गर्ने गरेको जनाइएको छ। अपरेटरहरूको नेतृत्व रमेश पटेलले गरिरहेका छन्। पटेलले विभिन्न सेवाग्राहीका गाडी दर्ता, ब्लुबुक जारी गर्नुपर्ने रकम आफ्नो खातामा जम्मा गरेर केही गाडीहरूको मात्र राजस्व बुझाउने र बाँकी रकम व्यक्तिगत रूपमा राख्ने गरेको दाबी गरिएको छ।
लेखा अधिकृत र लेखापालको संलग्नता
भ्रष्टाचारको मुख्य योजनाकारको रूपमा लेखा अधिकृत दिनेश पडितलाई आरोप लगाइएको छ। ब्लुबुक जारी गर्दा मोटरसाइकलका लागि २५ रुपैयाँ, कार/जिपका लागि ५० रुपैयाँ र हेभी गाडीका लागि १०० रुपैयाँ असुल गर्ने गरिएको छ। यसबाट संकलित रकम लेखा अधिकृत पडित र लेखापाल सुरेन्द्र यादवबीच बाँडफाँड हुने गरेको बताइएको छ।
राजस्व रकम मिलानमा अनियमितता
सूत्रका अनुसार, लेखा शाखामा सेवाग्राहीहरूले बैंकमा जम्मा गरेको रकम र नगदी रसिदको हिसाबकिताब मिल्दैन। रमेश पटेलको व्यक्तिगत खातामा धेरै सेवाग्राहीका रकम जम्मा भएको विवरण नियमनकारी निकायले छानबिन गर्दा सजिलै पुष्टि गर्न सकिने उल्लेख गरिएको छ।
नियमनकारी निकायको मौनता
भ्रष्टाचार बढ्दै जाँदा पनि नियमनकारी निकायको मौनताले नागरिकहरूमा आश्चर्य उत्पन्न गरेको छ। केही महिना अघि आएका लेखा अधिकृत दिनेश पडितको आगमनपछि लेखा शाखामा भ्रष्टाचार झन् तीव्र बनेको सेवाग्राहीहरू बताउँछन्।
छानबिनको माग
सचेत नागरिकहरूले लेखा शाखामा भइरहेको भ्रष्टाचारमाथि गहन छानबिन गर्न र दोषीमाथि कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यसले मात्र कार्यालयको साख बचाउन र सेवाग्राहीको मर्का अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिएको छ।