वीरगञ्ज । पर्साको अमरपट्टी नाकामा केही महिनादेखि तस्करी रोक्न प्रभावकारी कदम नउठाइँदा सरकारको करोडौं राजस्व चुहावट भइरहेको छ। नेपाल प्रहरीका एसपी कुमोद ढुङ्गेलको सरुवा भई नयाँ एसपीले चार्ज नलिँदा सीमावर्ती क्षेत्रको स्थिति थप बिग्रिएको छ।
यसैबीच, सशस्त्र प्रहरीका डिआईजी कालीदास धवजीले पर्सामा दुई दिन बसेर सीमा नाका अवलोकन गर्दै तस्करी रोक्न कडा निर्देशन दिए पनि कुनै ठोस सुधार भएको देखिएको छैन। पर्साका ग्रामीण क्षेत्रका नाकाहरूमा विदेशी सामानको तस्करी खुलेआम जारी छ।
स्रोतका अनुसार, अमरपट्टी नाका पूर्ण रूपमा भारतीय नागरिक तथा कुख्यात तस्कर विकास कुमारको नियन्त्रणमा छ। उनीमार्फत अन्य साना तस्करहरूले पनि अवैध रूपमा सामान ओसारपसार गरिरहेका छन्। भारतीय र नेपाली बजारको राम्रो जानकारी राख्ने विकास हुन्डी कारोबारमा समेत सक्रिय रहेको दाबी गरिएको छ।
यस नाकाबाट लसुन, अखरोट, पपकर्न, हड्डीको स्क्र्याप, काजुलगायतका सामग्रीहरू पिकअप भ्यानमार्फत रातभर तस्करी भइरहेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखहरूले भारतीय नागरिकसँग आर्थिक लेनदेनको कारण तस्करी रोक्न सक्रियता नदेखाएको आरोप लागेको छ। प्रहरी संगठनभित्रैका केही व्यक्तिहरू तस्कर समूहबीचको विवाद मिलाउने भूमिकामा रहेको स्रोतले जनाएको छ।
तस्करीले गर्दा सरकारको करोडौं रुपैयाँ बराबरको राजस्व चुहावट भइरहेको छ। अमरपट्टी नाका तस्करी मात्र नभई हुन्डी कारोबारको ट्रान्जिट प्वाइन्ट बनेको छ।
यस समस्यालाई समाधान गर्नका लागि उच्चस्तरीय अनुसन्धान र सीमा नाकामा कडा निगरानी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।