×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा नयाँ प्रमुख प्रहरी उपरीक्षक आएपनि पर्साको अमरपट्टी नाकामा भने तस्करको रजगज रोकिएको छैन । अमरपट्टी नाकाबाट भारतीय नागरिक नामुद तस्कर विकास कुमारले प्रहरीकै संरक्षणमा खुलेआम रुपमा तस्करी गरीरहेका छन् । 

अमरपट्टी नाकाबाट लहसुन, ओखर, पपकर्न, काजु, हड्डी स्क्र्याप, कबाड, कपडा र कुखुराको चल्लाको खुलेआम रुपमा तस्करी भइरहेको पाइएको हो । विकास कुमारले मोटरसाइकल, साइकिल र पिकअप गाडीबाट खुलेआम रुपमा गरीरहेको तस्करीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षण रहेको विश्वसनीय स्रोतले जनाएको छ । 

स्रोतकाअनुसार तस्करी निर्वाध रुपमा सञ्चालन हुनुमा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुशील बस्नेत, बोर्डर आउट पोस्ट अमरपट्टीका प्रहरी निरीक्षक रबिन ढुङ्गेल, बोर्डर आउट पोस्ट प्रसौनीभाठाका प्रहरी निरीक्षक राम हरि रिमाल, प्रहरी चौकी अमरपट्टीका वरिष्ठ सई मदन बहादुर मल्ल र प्रहरी चौकी प्रसौनीभाठाका वरिष्ठ सई बाबुराम ढकालले संरक्षण दिइरहेका छन् । 

पर्साका एसपी कुमोद ढुङ्गेलको सरुवा भएपछि पर्सामा आएका प्रहरी उपरीक्षक गौतम मिश्रलाई पनि तस्करीको कार्यमा सहयोग गर्नका लागि विकास कुमारले बिचौलिया परिचालन गरीसकेको खबर बाहिरिएको छ । 

तस्करी मात्र नभई अमरपट्टी नाका हुन्डी कारोबारको ट्रान्जिट प्वाइन्टसमेत बनेको छ । विदेशी मुद्राको अवैध कारोबारसमेत यही नाकाबाट भइरहेको आशंका गरिएको छ ।

Back to top