वीरगञ्ज । बाराको मटिअर्वा नाकाबाट भइरहेको तस्करीबारे सार्वजनिक समाचारपछि सुरक्षाकर्मीलाई बुझाइने नजराना झनै बढेर ३० लाख पुगेको छ । सशस्त्र प्रहरीका डिआईजी तथा मधेश प्रदेश प्रमुख कालीदास धवजीको निरीक्षणपछि तस्करी रोकथाम हुनुको सट्टा अझै व्यापक बनेको हो ।
मटिअर्वा नाका भएर कबाड अन्र्तगत पर्ने प्लास्टिक, ब्याट्रीको धूलो, स्टील, जिङ्क, हाडलगायत वस्तुहरू ठेलामार्फत नेपालबाट भारततर्फ तस्करी गरिन्छ । स्रोतका अनुसार, मटिअर्वा नाकाबाट मासिक करिब २ हजार टन सामान तस्करी गरिन्छ । प्रतिकिलो १३ रुपैयाँका दरले हुने यो तस्करीबाट मासिक २ करोड ६० लाख रुपैयाँ कमिसन उठाउने गरिएको छ । यसमध्ये, नेपालतर्फ सुरक्षाकर्मी र अन्य खर्चका लागि ३० लाख रुपैयाँ छुट्याइन्छ । यसबाट बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नजरान बुझाइन्छ ।
बाराको मटिअर्वा नाका तस्करीले परिचित छ । जसबाट त्याहाँको प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक बिदुर भट्टराईले पनि संरक्षण दिइरहेको आरोप छ । उनले तस्करसँग आर्थिक लाभ लिएको उजुरी परेपछि केही समय अघि मात्रै उनी छानबिनका लागि हेडक्वाटर तानिएका थिए ।
यस्तै भारततर्फ पिपराकोठीका कमान्डरलाई ४ लाख, आधापुर थानालाई १ लाख, रक्सौल र नकरदेवी थानालाई समान ५०–५० हजार, र बोर्डर ड्युटीमा खटिने एसएसबीका जवानलाई प्रति ठेला ३ सय रुपैयाँका दरले रकम बुझाइन्छ । यसबाहेक, साप्ताहिक रूपमा ३५ हजार रुपैयाँ आधापुर एसएसबी क्याम्पमा बुझाउने गरिएको विश्वसनीय स्रोतले बताएको छ ।
तस्करीको मुख्य नेतृत्व नेपालतर्फ श्याम कुशवाहाले लिएका छन् भने भारतीय पक्षबाट मोजामिल हुसैनले सम्हालिरहेका छन् । यद्यपि, मोजामिलविरुद्ध मुद्दा चलिरहेको हुँदा उनी नेपालमै लुकिछिपि बसेर तस्करीको सेटिङ मिलाउँदै आएका छन् । केही समयअघि उनका गोदामबाट अवैध रूपमा भण्डारण गरिएको कपडा बरामद भएपछि उनीविरुद्ध कानुनी कारबाही जारी रहेको छ ।
स्थानीय स्रोतका अनुसार, यसअघि २६ लाख रुपैयाँ नजराना बुझाउने गरिए पनि अहिले त्यो दर बढेर ३० लाख पुगेको छ । यस्तै, तस्करीमा संलग्न अन्य समूहहरूले प्रतिकिलो १३ रुपैयाँका दरले असुल्ने रकमको हिस्सा पनि आफ्नो भाग अनुसार बाँड्ने गरेका छन् ।