रौतहट । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वर्तमान सरकार देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गरिएको बताएका छन् ।
शनिवार रौतहटका यात्रा डेली संवाददाता सञ्जय सनहीसँग कुराकानी गर्दै मन्त्री गुप्ताले वर्तमान सरकार देशमा सुशासन कायम गर्न लागिपरेको दाबी गरेका हुन् ।
मन्त्री गुप्ताले देशमा हरेक स्थानीय तहमा सुशासन कायम तथा विकास निर्माणमा गति प्रदानका लागि स्थानीय हतको जनप्रतिनिधिको सुझाव र समन्वयमा कर्मचारी पठाई जनताको सेवा र पालिकाको विकासमा दायाँबायाँ नगरी अहोरात्र खट्न निर्देशन दिने काम गरिरहेको बताए ।
“कुनै दायाँबायाँ नगरी जनतालाई सेवा दिन, खटाएको स्थानीय तहको विकास बारे सोच्न कर्मचारीलाई स्पष्ट निर्देशनसहित पठाएको छु, उनले भने, “सबैलाई सम्झाएको छु । कहीँ -कतैका कर्मचारीले गल्ती गरे कारबाहीबाट जोगिने कुरा हुन्न ।”
गुप्ताले आफू भ्रष्टाचार र अनियमितताको पक्षमा नरहेको र कसैले गरे सह्य नहुने आफ्नो धारण रहेको बताए।
मन्त्री गुप्ताले तत्काल कर्मचारी समायोजनको झमेला र विभिन्न कानुनी अड्चनले गर्दा विभिन्न स्थानीय तहमा निमित्त पठाउन विवश रहेको बताए । “केही अप्ठ्यारो छ । केही दिन मै सब सिस्टममा आउँछ,” उनले भने ।
छिट्टै सङ्घीय निजामती ऐन ल्याइने बताउँदै उनले स्थानीय तह र प्रदेशका कर्मचारीको ‘अप्ठ्यारो’ आफूलाई थाह रहेको बताए । “उदाहरणका लागि रौतहट जिल्लामा घर–व्यवहार भएका मानिस कर्णाली खटाइएको छ । यस्ता समस्या स्थायी रूपमा समाधान गर्न प्रयास गरिरहेका छौँ । उहाँहरूलाई अपायक ठाउँमा खटाइएको छ । यसलाई पनि व्यवस्थित गर्ने प्रयासमा मन्त्रालय छ,” मन्त्री गुप्ताले स्पष्ट पारे ।