मलंगवा । सर्लाहीको मलंगवा नगरपालिकाले आफ्नो ३८औँ स्थापना दिवसलाई विशेष बनाउँदै बाज्जिका भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि ‘बाज्जिका महोत्सव–२०८१’ को भव्य आयोजना गरेको छ ।
मलंगवा नगरपालिकाको नेतृत्व र बाज्जिका साहित्य समाज सर्लाहीको सहकार्यमा सम्पन्न यो महोत्सवले बाज्जिका भाषाको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राखेर नयाँ ऊर्जा थपेको छ ।
कार्यक्रमको अध्यक्षता मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले गरेका थिए भने मधेस प्रदेशका पूर्व अर्थमन्त्री सञ्जय यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहे ।
बाज्जिका समाज सर्लाहीका अध्यक्ष रामचन्द्र कुशवाहाको सक्रिय पहलमा आयोजित महोत्सवमा नेपाल र भारतका बाज्जिका साहित्यकारहरूको सहभागिताले थप रौनक थप्यो । सदस्य सचिव मुकेश कुमार मिश्रले नेपाल सरकार र स्थानीय नीति अनुरूप मातृभाषाको जगेर्ना गर्न यो कार्यक्रम आयोजना गरिएको बताए ।
नेपालको तराई-मधेस क्षेत्रमा बोलिने प्रमुख भाषामध्ये एक बाज्जिकाको संरक्षण आजको टड्कारो आवश्यकता भएको कुरा महोत्सवमा जोडियो ।
वक्ताहरूले मातृभाषाको प्रयोग र संरक्षणमा ढिलाइ भए यो समयसँगै लोप हुने खतरा रहेको चेतावनी दिए । उनीहरूले सरकारी तहदेखि स्थानीय समुदायसम्म यसको जीवन्तताका लागि सक्रियता अपरिहार्य रहेको धारणा राखे ।
‘बाज्जिका अन्तर्राष्ट्रिय साहित्यकार सम्मेलन’ ले कार्यक्रमलाई थप उचाइ दियो, जहाँ बाज्जिका भाषालाई सरकारी प्रशासनमा प्रयोग गर्नुपर्ने मुद्दाले स्थान पायो । नेपाल र प्रदेश सरकारका केही सदस्यले बाज्जिकामा शपथ लिएको उदाहरणलाई उपलब्धिको रूपमा हेरियो। साथै, बाज्जिका भाषा र साहित्यमा योगदान पुर्याउने पत्रकार, साहित्यकार र अन्य व्यक्तित्वहरूलाई सम्मान गरियो ।
महोत्सवले बाज्जिका भाषाको प्रवर्द्धनका लागि ठोस पहलहरू अघि सारेको छ। सहभागीहरूले सरकारी निकायमा बाज्जिकालाई कार्यकारी भाषाको रूपमा स्थापित गर्नुपर्ने, स्कुलहरूमा यसको पढाइ सुरु गर्नुपर्ने र साहित्य, पत्रकारिता, गीत-सङ्गीत तथा नाटकमार्फत यसको प्रचार गर्नुपर्ने विचार व्यक्त गरे। त्यसै गरी, बाज्जिका भाषी समुदायबिच नियमित साहित्यिक र सांस्कृतिक गतिविधि बढाएर आपसी सम्पर्क बलियो बनाउनुपर्नेमा पनि जोड दिइयो। कार्यक्रममा प्रस्तुत बाज्जिका गीत-सङ्गीत, नाटक र जनचेतनामूलक प्रस्तुतिहरूले सहभागीको मन जिते। यहाँ उपस्थित व्यक्तिहरूले मातृभाषाको महत्वबारे आफ्ना अनुभव साट्दा माहौल थप जीवन्त बन्यो।
बाज्जिका महोत्सवले स्थानीय भाषा र संस्कृतिको संरक्षणमा नयाँ आशा जगाएको छ। आयोजकहरूले आगामी वर्षहरूमा यो पहललाई अझ व्यापक र प्रभावकारी बनाउने सङ्कल्प व्यक्त गरेका छन्। यो महोत्सव बाज्जिका भाषालाई जीवित राख्ने एउटा कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ।