×

सर्लाही। पत्रकार विपेन्द्रकुमार साहलाई मालपोत कार्यालयबाट कठालो समातेर सुनियोजित रुपमा आक्रमण गरेको १३ दिन बितिसक्दा पनि सर्लाही प्रहरीले कुनै कारवाही नगरी उल्टै घटनालाई ढाकछोप गरी आरोपीतलाई संरक्षण गर्दै आएको पीडित पक्षले गम्भीर आरोप लगाएका छन् । 

पत्रकार साहमाथि फागुन ९ गते भएको सुनियोजित रुपमा योजनाबद्ध आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग भइरहेका बेला सर्लाही प्रहरी प्रशासनद्धारा पीडितलाई न्याय दिलाउनुको साटो उल्टै आरोपितलाई संरक्षण गर्नमा लागेको पीडित पक्षले गम्भीर आरोप लगाएका हुन् । घटना भएको १३ दिन बितिसक्दा पनि कसैलाई पक्राउ नगर्नु प्रहरीको भूमिका माथि गम्भीर प्रश्न खडा भएको छ ।

मालपोत कार्यालयमै भएको फिल्मी शैलीको आक्रमण
गत फागुन ९ गते सर्लाही सदरमुकाम मलंगवा स्थित मालपोत कार्यालयमा कार्यालय प्रमुखको कार्यकक्षबाट पत्रकार साहलाई कठालो समातेर बाहिर निकाल्दै सार्वजनिक रूपमा कुटपिट गरिएको थियो । पत्रकार साहलाई पर्सा गाउँपालिका वडा नम्वर २ निवासी राजकपुर मण्डल नेतृत्वको समूहद्धारा आक्रमण गरिएको आरोप छ ।

पत्रकार साहका अनुसार, तीन वर्षअघि राजकपुर मण्डललाई १५ लाख रुपैया ऋण दिएका थिए । पटक–पटक रकम फिर्ताको माग गर्दा मण्डलले अस्वीकार गरेपछि साहले सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरे । अदालतले साहको पक्षमा फैसला गरेपछि जनकपुर उच्च अदालतबाट समेत उनलाई न्याय मिल्यो । त्यसपछि अदालतको आदेश पछि मण्डलको दुई कित्ता जग्गा दाखिल–खारिज गराउन साह मालपोत कार्यालय पुगेका बेला उनीमाथि आक्रमण भएको थियो ।

प्रहरीद्वारा जाहेरी लिन अस्वीकार, उल्टै पीडितलाई मिल्न दबाब

घटना भएपछि पत्रकार साहले जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दिन गएका थिए । साहको उजुरी प्रहरीले लिन मानेनन् । प्रहरीले सुरुदेखि नै घटनालाई हल्का रूपमा लिएको आरोप उनले लगाए ।

प्रहरी कार्यालयमा जाहेरी दिन जाँदा “किटानी जाहेरी लिएर आउनु” भन्दै पठाइयो । किटानी जाहेरी लिएर जाँदा प्रहरीले जाहेरी लिन अस्वीकार गर्यो । फागुन १५ गते सर्लाहीका प्रहरी प्रमुख एसपीले पीडितलाई बोलाएर छानबिनको आश्वासन दिए । तर अहिलेसम्म न त जाहेरी दर्ता गरेको छ, न दोषीलाई पक्राउ गरे, पीडितले प्रहरीको गैर जिम्मेवारीपनाको शिकार बनेको बताए । उल्टै प्रहरी वार्ताका नाममा पीडित साहलाई नै दबाब दिइरहेको छ । पत्रकार साहले प्रहरी सत्ता र शक्तिको दबाबमा अपराधीलाई जोगाउन लागिपरेको गम्भीर आरोप लगाए ।

प्रहरी प्रशासनको गैरजिम्मेवारीपूर्ण भूमिका
पीडित साहमाथि खुलेआम आक्रमण हुँदा पनि प्रहरीले अपराधीलाई संरक्षण गर्न खोजेको स्पष्ट देखिन्छ । सर्लाही प्रहरी प्रमुख र सुचना अधिकारीले घटना समाधानका लागि दुवै पक्षबीच छलफल गराउनु पर्ने भन्दै कानुनी प्रक्रिया अघि नबढाउने संकेत दिएका छन् । पीडित साहले भने छलफलको नाममा घटनालाई दबाउने खेल भइरहेको भन्दै जाहेरी दर्ता गरेर अपराधीलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने अडान राखेका छन् । प्रहरीले पटक–पटक “आज–भोलि” भन्दै जाहेरी दर्ता गर्न आलटाल गरिरहेको पिडितले गुनासो गरे ।

अपराधीलाई संरक्षण होइन, कानुनी कारबाही होस्
प्रहरी प्रशासनको यस्तो व्यवहारले न्याय पाउने आशा मरेका पीडितहरू अझ बढी निराश हुने देखिन्छ । प्रहरीको निष्क्रियताले अपराधीहरू अझै हौसिने खतरा यतिखेर सर्लाहीमा बढेर गएको छ । पत्रकार साहमाथि भएको आक्रमणको स्वतन्त्र छानबिन गर्दै दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन जिल्लाका क्रीयाशिल पत्रकारहरूले माग गरेका छन ।

के भन्छन् सर्लाही प्रहरी प्रमुख ?
घटना बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) रविन्द्रबहादुर सिंहसँग फोनमा संवाद गर्दा उनले कार्यालयमा पिडित विपेन्द्रकुमार साहलाई नै पठाई दिन भने, उनलाई नै सबथोक भन्न छु भनी जवाफ फर्काए ।

 

Back to top