सर्लाही । गोडैता नगरपालिका–२ जयपुरमा घातक विशादी मुक्त संसार, स्वास्थ जीवन पर्यावरणको आधार भन्ने मुल नारा सहित आईपिएम (एकीकृत बाली व्यवस्थापन) कृषक पाठशाला सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र मलंगवाको आयोजनामा १६ हप्तासम्म सञ्चालन गरिएको तालिममा सहभागिता जनाएका कृषकहरूलाई प्रमाणपत्र वितरण गर्दै कृषि दिवस पनि मनाइएको छ।
कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव प्रमुख अतिथि रहेका थिए भने कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहा विशिष्ट अतिथि रहेका थिए।
आईपिएम विधिबाट काउली खेती गर्ने तालिम लिएका किसानहरूले परम्परागत खेतीको तुलनामा लागत कम हुने, उत्पादन वृद्धि हुने, र जैविक विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणलाई समेत फाइदा पुग्ने बताएका छन्।
कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहाले भने,
"आईपिएम कृषक पाठशालाको मुख्य उद्देश्य किसानलाई व्यावसायिक, दक्ष, र विषादीको न्यून प्रयोग गरेर बढी उत्पादन गर्ने बनाउन सक्नु हो। यो कार्यक्रम अहिले मधेस प्रदेशका धेरै जिल्लामा सञ्चालन भइरहेको छ, आगामी दिनमा थप विस्तार गर्दै लैजान्छौं।"
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर देवेन्द्र कुमार यादवले स्थानीय सरकार कृषि प्रवर्द्धनमा सक्रिय रहेको बताए।
"मेरो पहिलो कार्यकालमा किसानहरूलाई मोटर, पम्पसेट, स्यालो ट्युबवेल, ट्याक्टर जस्ता कृषि उपकरण वितरण गरेका थियौं। म आफैं किसान हुँ, तरकारीदेखि मसला सबै बारीमा उत्पादन गर्छु। त्यसैले किसानका समस्या म नजिकबाट बुझेको छु।" – उनले भने।
मेयर यादवले रासायनिक विषादी अत्यधिक प्रयोगका कारण गाउँघरमा क्यान्सर, मुटुरोग, मधुमेहजस्ता दीर्घकालीन रोगहरू बढ्दै गएकाले आईपिएम प्रविधि अत्यावश्यक रहेको बताए।
साथै, महिलाहरूको सशक्तिकरणबिना समाज समृद्ध नहुने बताउँदै उनले भने,
"महिलाहरूको आधा अधिकार व्यवसाय र आम्दानीमा हुनुपर्छ। यहाँ महिलाहरूको सहभागिता उच्च रहेकोमा खुसी लागेको छ।"
मेयर यादवले गोडैता नगरपालिकाभित्रका कृषकहरूको कृषि महसुल नगरपालिकाले नै तिर्ने प्रतिबद्धता व्यक्त गरे। यस कदमले किसानहरूको आर्थिक बोझ कम गर्दै उत्पादन वृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
तालिमको सफलता देखेर आयोजक संस्थाहरूले आगामी दिनमा गोडैताका अन्य वडाहरूमा र छिमेकी स्थानीय तहमा पनि आईपिएम कृषक पाठशाला सञ्चालन गर्ने योजना बनाएको कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहाले जानकारी दिए।
तालिममा सहभागी कृषकहरूका अनुसार, आईपिएम विधिले खेतीमा आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ।
"परम्परागत खेती गर्दा लागत धेरै आउँथ्यो, उत्पादन कम हुन्थ्यो। अहिले विषादीको सट्टा जैविक उपायहरू सिक्यौं। आईपिएम प्रविधिले स्वास्थ्यका लागि फाइदा पुग्ने मात्रै होइन, बजारमा पनि राम्रो मूल्य पाइने रहेछ।" – तालिममा सहभागी किसान शीतल मुखियाले भने।
गोडैता नगरपालिकामा कृषि प्रविधि सुधार गर्दै किसानहरूको आय वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको आईपिएम कृषक पाठशाला प्रभावकारी देखिएको छ।
स्थानीय सरकारको प्रतिबद्धता र किसानहरूको उत्साहका कारण आगामी दिनमा गोडैताको कृषि प्रणाली अझ व्यवस्थित र वातावरणमैत्री हुने आशा गरिएको छ।
आजको कार्यक्रममा कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सिताराम यादव, वडाअध्यक्ष अजय कुमार साह, पुर्व वडाअध्यक्ष भोला महतो, श्री विन मुखिया कृषक समुहका अध्यक्ष सितल मुखिया लगायत तालिम लिएका सहभागीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम सन्चालक तथा आइपिएम कृषि सहजर्कता महेश राय यादवले जानकारी दिए ।