भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले हालै पश्चिम बङ्गालको कोलकातामा एक गोप्य बैठक आयोजना गरेका थिए, जसको उद्देश्य देशको सुरक्षा सुदृढ बनाउने थियो । उनले बंगालका खुफिया अधिकारीहरू, उत्तर–पूर्वी भारतका सुरक्षा अधिकारीहरूलाई तलब गर्दै एक गोप्य बैठक गरेका थिए । बैठकपछि पश्चिम बङ्गाल र असमबाट जैश–ए–मोहम्मद र एबीटी (अन्सार उल बाङ्ग्ला टोली) का १९ जना खतरनाक आतङ्ककारी पक्राउ परेका छन् ।
डोभाल भारतको सुरक्षा रणनीतिका मास्टरमाइन्ड मानिन्छन् । उनी कुनै पनि स्थानमा प्रत्यक्षरूपमा पुगेर सुरक्षा अवस्था मूल्याङ्कन गर्ने गर्छन् । दिल्ली, कश्मीर, र अहिले पश्चिम बङ्गालमा उनको सक्रियता देखिएको छ । यो तथ्यले प्रस्ट संकेत गर्छ कि पाकिस्तान, बङ्गलादेश तथा अन्य छिमेकी मुलुकहरूमा केही ठूलो गतिविधि हुन सक्नेछ ।
डोभालको बैठकपछि पश्चिम बङ्गालमा सुरक्षा निकायहरूले शङ्कास्पद तत्त्वहरूको खोजी तीव्र पारेका छन् । तीमध्ये केही भारतमा बस्ने तर पाकिस्तान र बङ्गलादेशका लागि काम गर्ने व्यक्ति हुन सक्ने आशङ्का गरिएको छ । तस्करीमा संलग्न गिरोह, जाली नोट कारोबारमा लागेका व्यक्ति, र सीमा क्षेत्रमा अवैध रूपमा प्रवेश गर्न खोज्नेहरूलाई सीमा सुरक्षा बल (बीएसएफ) ले कडाइका साथ नियन्त्रण गर्दै छ ।
डोभालको कोलकाता भ्रमण केवल आन्तरिक सुरक्षा मात्र नभई अन्तर्राष्ट्रिय राजनीतिक अवस्थासँग पनि जोडिएको छ । हाल पश्चिम बङ्गालमा रोहिङ्ग्या तथा बङ्गलादेशी आप्रवासीहरूको बढ्दो गतिविधि ममता बनर्जी सरकारको समर्थनमा भइरहेको आरोप छ । यस्तो अवस्थामा डोभालको सक्रियता भारतमा अवैध घुसपैठ नियन्त्रण गर्न रणनीतिक महत्त्व राख्छ ।
अब डोभाल १६ मार्चमा नयाँ दिल्लीमा हुने खुफिया प्रमुखहरूको एक उच्चस्तरीय बैठकको नेतृत्व गर्नेछन् । यस बैठकमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जर्मनी, न्यूजील्यान्ड, र भारतका निकट मित्र राष्ट्रहरूको खुफिया तथा सुरक्षा अधिकारीहरू सहभागी हुनेछन् ।
यो सम्मेलनको उद्देश्य आतङ्कवादी वित्त पोषण, डिजिटल अपराध, तथा खुफिया सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउनु हो । यस बैठकमा रुस–युक्रेन युद्ध, पश्चिमी एसियाका द्वन्द्व, तथा साइबर सुरक्षासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ ।
सम्मेलनकै दौरान डोभालले विभिन्न देशका खुफिया प्रमुखहरूसँग प्रत्यक्ष बैठक गर्नेछन्। विशेष गरी, अमेरिकी नेशनल इन्टेलिजेन्स डायरेक्टर तुलसी गब्बार्ड, क्यानडाका स्पाई प्रमुख ड्यानियल रोजर्स, र बेलायती खुफिया एजेन्सी एमआइ – ६ का प्रमुख रिचर्ड मूरसँग डोभालको द्विपक्षीय वार्ता हुनेछ ।
गब्बार्डले रायसीना संवादलाई समेत सम्बोधन गर्नेछिन्, जहाँ भारत–अमेरिका सम्बन्ध, विशेषगरी इनडो–प्यासिफिक क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
क्यानडाका खुफिया प्रमुख रोजर्ससँगको बैठकले भारत–क्यानडा सम्बन्धको भावी दिशाबारे महत्त्वपूर्ण सङ्केत दिने अनुमान गरिएको छ । हालै भारत र क्यानडाबीच उत्पन्न चिसोपनलाई ध्यानमा राख्दै, डोभालको भेटवार्ताले दुई देशबिचको सुरक्षा समन्वयमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
अजित डोभालको हालको गतिविधि केवल भारतको सुरक्षा रणनीतिसँग सीमित छैन, यो अन्तर्राष्ट्रिय कूटनीति र खुफिया साझेदारीको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ । भारतको सीमामा हुने अवैध गतिविधिहरूलाई रोक्न तथा अन्तर्राष्ट्रिय स्तरमा खुफिया जानकारी आदान–प्रदानलाई व्यवस्थित बनाउन उनको नेतृत्वमा महत्त्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ ।