महोत्तरी । महोत्तरीको गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले उखु अभावका कारण निर्धारित लक्ष्यअनुसार क्रसिङ (उखु पेलेर चिनी उत्पादन) गर्न सकेन। यसै कारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग फागुन मसान्तमै बन्द गरिएको छ।
उद्योगले गत मंसिर २६ गते उखु क्रसिङ सुरु गरेको थियो। तर, बिहीबारदेखि उखु आपूर्ति नहुँदा क्रसिङ रोकिएको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले जानकारी दिए। उनका अनुसार यसपालि उद्योगले निर्धारित ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखे पनि ३१ लाख ३ हजार ५१ क्विन्टल मात्रै क्रसिङ गर्न सफल भयो।
उद्योग सञ्चालनका ९२ दिनमध्ये ६ दिन उखु अभावकै कारण क्रसिङ रोक्नुपरेको र २५ दिनसम्म क्षमता घटाएर सञ्चालन गर्नुपरेको महाप्रबन्धक शुक्लाले बताए। यसपटक उद्योगले ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य राखे पनि उखु अभावका कारण यो लक्ष्य हासिल हुन सकेन।
यसैबीच, उद्योगले फागुन २५ गतेसम्म किसानबाट खरिद गरिएको उखुको भुक्तानी चुक्ता गरेको जनाएको छ। उद्योगका अनुसार ३० लाख ८० हजार क्विन्टल उखुको खरिद रकम रु १ अर्ब ७० करोड ५७ लाख भुक्तानी गरिएको छ। पछिल्ला तीन वर्षयता उद्योगले भुक्तानी प्रक्रिया सरल बनाउँदै प्रत्येक पाँच दिनमा किसानको खातामा रकम जम्मा गरिदै आएको छ।
तर, उचित मूल्य नपाएको भन्दै उखु किसान भने निराश छन्। उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार सरकारले उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५८५ तोकेको छ, जसमा उद्योगीले दिने मूल्यबाहेक सरकारले प्रतिक्विन्टल रु ७० अनुदान दिने व्यवस्था गरेको छ। यसअनुसार किसानले कुल प्रतिक्विन्टल रु ६५५ मात्र पाउने भएका छन्, जुन किसानको अपेक्षाभन्दा निकै कम हो।
गत वर्षको तुलनामा यस वर्ष उद्योगले करिब २ लाख क्विन्टल बढी उखु क्रसिङ गरे पनि उखु उत्पादन घट्दो क्रममा रहेको देखिएको छ। गत वर्ष २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरी २ लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरिएको थियो।
किसानहरू उचित मूल्य पाउन नसकेको र उखु उत्पादन घटेको कारण उद्योगसमेत प्रभावित भएको बताइएको छ।