×

सर्लाही । प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन्।

महतोले हरिपूर्वा नगरपालिका–५ का २१ वर्षीय शिवमकुमार यादवसँग पटक–पटक गरी रु. २ लाख ७५ हजार ठगी गरेको प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए।

यसअघि सार्वजनिक मुद्दामा धनुषा प्रहरीको नियन्त्रणमा रहेकी महतो धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी थिइन्। कारागारमुक्त हुनासाथ सर्लाही प्रहरीको उजुरीका आधारमा उनलाई पुनः पक्राउ गरिएको हो।

सर्लाही प्रहरीले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएको छ।

डिएसपी राईका अनुसार, हालसम्म एक जनाले मात्र जाहेरी दिएका छन्, तर उनले अरू व्यक्तिहरूलाई पनि ठगी गरेको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

Back to top