×

सर्लाही । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को पहिलो दिनमै सर्लाही जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट अमर्यादित क्रियाकलापमा संलग्न भेटिएका तीनजना परीक्षा निरीक्षक र एक विद्यालय सहयोगीलाई निष्कासित गरिएको छ। परीक्षामा अनुशासन कायम गर्न जिल्लामा पाँचवटा अनुगमन टोली खटिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई, सर्लाहीका अनुसार बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरिरहेको अवस्थामा पत्ता लागेपछि तत्काल निष्कासित गरिएको हो।

त्यस्तै, हरिपुर्वा नगरपालिका–८ मा रहेको केश्वर गरिव जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई पनि सोही प्रकारको अनियमितता गरेको पाइएपछि कारबाही गरिएको छ।

यसका अतिरिक्त, मलंगवा नगरपालिका–७ स्थित श्री बौधीदेवी माध्यमिक विद्यालय, मुसैलीका विद्यालय सहयोगी इन्द्रजीत महतो नुनियालाई समेत परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न भएको आरोपमा निष्कासन गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ।

यस वर्ष सर्लाहीको बागमती नगरपालिका–५, ढुंग्रेखोला मिलनचोकस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रलाई हटाइएको छ। यसका सट्टा, गोडैता नगरपालिका–१० स्थित श्री नारायण हरि माध्यमिक विद्यालयमा नयाँ परीक्षा केन्द्र थप गरिएको छ।

सर्लाही जिल्लाभर ३८ वटा परीक्षा केन्द्रहरू स्थापना गरिएको छ। परीक्षा केन्द्रहरूबाट १०७ सामुदायिक विद्यालय र ४६ निजी विद्यालय गरी जम्मा १५३ विद्यालयका विद्यार्थीहरूले परीक्षा दिइरहेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार, जिल्लामा ६,०६३ छात्रा र ५,९७१ छात्र गरी जम्मा १२,०३४ विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन्।

परीक्षालाई निष्पक्ष र मर्यादित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सर्लाहीको समन्वयमा ५ वटा अनुगमन टोली परिचालित छन्। ती टोलीमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख/उप–प्रमुख र शिक्षा इकाइ प्रमुखहरू सहभागी छन्।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, "कानुनविपरीत क्रियाकलाप गर्ने परीक्षा निरीक्षक वा विद्यालय कर्मचारीमाथि शून्य सहनशीलता नीति अपनाइएको छ। परीक्षा केन्द्रमा भेटिएको मोबाइल जफत गरिन्छ र नियम विपरीत गतिविधि गर्नेहरूलाई तुरुन्त कारबाही गरिन्छ।"

उहाँले थप स्पष्ट पार्नुभयो कि निष्कासित निरीक्षकहरूको स्थानमा वैकल्पिक निरीक्षक तत्काल खटाइनेछ र परीक्षा सञ्चालनमा कुनै अवरोध नआउने सुनिश्चित गरिनेछ।

जिल्ला समन्वय समितिले परीक्षा अवधि भरि अनुगमन तीव्र बनाउने निर्णय गरेको छ। 

सर्लाहीका सबै ३८ परीक्षा केन्द्रहरूमा अनुशासन कायम गराउन जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको पदाधिकारी, जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख र उपप्रमुख, जिल्ला प्रशासन कार्यालय, सर्लाही र शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका कर्मचारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरूको सहकार्यमा निगरानीलाई प्राथमिकता दिइएको छ।

शिक्षा इकाइका अनुसार, परीक्षामा संलग्न सबै शिक्षक, विद्यालय सहयोगी र कर्मचारीहरूलाई परीक्षा आचारसंहिता पूर्ण पालना गर्न निर्देशन दिइएको छ।

Back to top