×

सर्लाही । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को दोस्रो दिन सर्लाहीमा एक विद्यालय सहयोगी नियन्त्रणमा लिइएका छन्। परीक्षा मर्यादा कायम गर्न प्रशासनले अनुगमनलाई थप कडाइ गरेको छ।

आजको परीक्षामा बरहथवा नगरपालिका–५, हाथिडण्डा स्थित श्री जनहित मलभोगिया मुनिलाल माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट विद्यालय सहयोगी देवनाथ महतोलाई अनियमित गतिविधिमा संलग्न रहेको आशंकामा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको नेतृत्वमा गएको अनुगमन टोलीले नियन्त्रणमा लिएको छ।

पहिलो दिन तीन निरीक्षक र एक विद्यालय सहयोगी निष्कासित

यसअघि, पहिलो दिन सर्लाहीका विभिन्न परीक्षा केन्द्रहरूबाट परीक्षार्थीलाई चिट चोर्नमा सहयोग गरिरहेका अवस्थामा फेला परेका तीनजना निरीक्षक र एक विद्यालय सहयोगीलाई निष्कासित गरिएको थियो।

रामसखी मोहित सिंह जनता मावि, बलरा–४: निरीक्षक रिन्कु देवी र रामनारायण बैठा केश्वर गरिव जनता मावि, हरिपुर्वा–८: निरीक्षक बालुलाल राय श्री बौधीदेवी मावि, मलंगवा–७, मुसैली: विद्यालय सहयोगी इन्द्रजीत महतो नुनिया रहेको थियो।

जिल्लाभरीका ३८ वटा परीक्षा केन्द्रहरूमा आज दोस्रो दिनको एसईई परीक्षा सामान्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्रेष्ठको नेतृत्वमा पाँचवटा अनुगमन टोलीले निरन्तर अनुगमन गरिरहेको बुझिएको छ।

Back to top