×

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह रोकथाम र छोरीहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित विशेष अभियान सञ्चालन गरेको छ । 

गाउँपालिकाले १२ कक्षा पास गरी २० वर्ष उमेर पूरा गरेर बिहे गरेका १३ छोरीलाई जनही ५० हजार रुपैयाँ र २० वर्ष पूरा गरी स्नातक तहको पहिलो वर्षमा अध्ययनरत २३ छोरीलाई जनही ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पदभार ग्रहण गरेपछि बालविवाह न्यूनीकरण र छोरीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन दिने निर्णय स्वरूप योजना ल्याइएको बताए । उनका अनुसार, चन्द्रनगरमा हरेक वर्ष ५० प्रतिशतभन्दा बढी बालविवाह र २० प्रतिशतभन्दा बढी कम उमेरमा भागी विवाह हुने गरेको तथ्याङ्कलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

“छोरीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्दै समाजमा बालविवाह र कम उमेरमा हुने भागी विवाह रोक्न हाम्रो अभियान हो । छोरी शिक्षामा गरिएको लगानीले उनीहरूको भविष्य मात्र होइन, समुदायको भविष्य पनि उज्यालो बनाउँछ,” अध्यक्ष महतोले भने ।

चन्द्रनगर गाउँपालिकाको कदमलाई छोरीहरूलाई शिक्षाको उज्यालो बाटो देखाउँदै बालविवाहको अन्धकार हटाउने एउटा साहसिक र प्रेरणादायी कदम रहेको महिला अधिकारकर्मी रम्भा झाले बताइन । 

गाउँपालिकाको अभूतपूर्व कदमले छोरीहरूको भविष्य उज्ज्वल बनाउन मात्र होइन, समाजको सोचमा आमूल परिवर्तन ल्याउने सङ्कल्प बोकेको महिला अधिकारकर्मी झाको भनाइ छ । 

चन्द्रनगर गाउँपालिकामा प्रत्येक वर्ष ५० प्रतिशत भन्दा बढी बालविवाह र २० प्रतिशत भन्दा बढी कम उमेरमा हुने भागी विवाहले जरा गाडेको थियो । यस्तो कुप्रथालाई जरैदेखि उखेलेर फाल्न र छोरीहरूलाई उच्च शिक्षाको ढोका खोल्न योजना जन्मिएको गाउँपालिका अध्यक्ष महतोको दाबी छ ।

“हाम्रा छोरीहरू बोझ होइनन्, समाजका गहना हुन् । उनीहरूलाई पढाउनु र उमेर पुगेपछि सम्मानजनक जीवन दिनु हाम्रो कर्तव्य हो । यो सहयोग त्यही कर्तव्यको पहिलो पाइला हो,” उनले भावुक हुँदै भने ।

निर्वाचित भए लगत्तै अध्यक्ष महतो र जनप्रतिनिधिहरूले छोरीहरूको शिक्षा र सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेका थिए । सोही अनुसार जनप्रतिनिधिहरूले गाउँपालिकाको पहिलो बैठक मार्फत छोरीहरूलाई सहयोग गर्ने नीति निर्माण गरेका थिए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश यादवले आर्थिक सहयोग छोरीहरूको आत्मसम्मान र सपनालाई उडान दिने पखेटा बन्ने बताए । गाउँपालिकाको पहलले अभिभावकहरूको सोचमा समेत क्रान्ति ल्याएको छ । छोरीलाई बोझ ठान्ने पुरातन मानसिकता टुट्दै गएको छ भने छोरीहरू आफ्नो पढाइ र भविष्यप्रति सचेत बनेका छन् । “अब हाम्रा छोरीहरू डिग्री बोकेर, आत्मनिर्भर बनेर विवाह गर्नेछन्,” अध्यक्ष महतोले गर्वका साथ भने । 

चेक हस्तान्तरण समारोहमा वडा अध्यक्ष र सदस्यहरूको उपस्थितिले रहेको गाउँपालिकाका अधिकृत कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

Back to top