रौतहट । पछिल्लो समय सामाजिक सञ्जालमा रौतहटका सञ्चारकर्मी तथा पत्रकारहरूलाई सामूहिक रूपमा बदनाम गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने तथा तथ्यहीन आरोप लगाउने प्रवृत्ति बढ्दै गएकोप्रति नेपाल पत्रकार महासंघ, रौतहटले गम्भीर आपत्ति जनाएको छ।
नेपाल पत्रकार महासंघ, रौतहटका सचिव गौतम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा व्यक्तिको वैचारिक मतभेद वा व्यक्तिगत रिसरागलाई सम्पूर्ण पत्रकारिता जगतसँग जोडेर बदनाम गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, "यदि कसैले कुनै पत्रकारको गैरव्यवहार गरेको छ भने त्यसको उचित प्रक्रियाबाट उजुरी दिन सकिन्छ। तर, प्रमाणबिना सम्पूर्ण पत्रकार समुदायलाई आरोप लगाउनु निन्दनीय छ।"
महासंघले सामाजिक सञ्जालमा बिना प्रमाण पत्रकारहरूलाई गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने तथा बदनाम गर्ने गतिविधि दोहोरिए कानूनी कारबाही अघि बढाइने चेतावनी दिएको छ। साथै, यस किसिमका गतिविधिहरू रोक्न सम्बन्धित निकायलाई निगरानी बढाउन अनुरोध गरिएको छ।
सञ्चारकर्मीहरूलाई महासंघले तोकेको आचारसंहिताभित्र रही जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दै महासंघले समाजमा सत्यतथ्य सूचना प्रवाह गर्न पत्रकारहरूको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।