×

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरमा बाल क्लबको अगुवाइमा वातावरणीय चेतना फैलाउने उद्देश्यले र्याली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। “वातावरण र बाल अधिकार, हामी सबैको सरोकार” भन्ने नाराका साथ आयोजित कार्यक्रम बसन्त बाल क्लबको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा वल्र्ड भिजन र बागमती सेवा समाज नेपाल द्वारा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता सहयोगी परियोजनाको सहयोग रहेको थियो।

बाल क्लबका अध्यक्ष नुरैन अंसारीका अनुसार, जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गर्दै १०० वटा विविध फलफूलका बिरुवा रोपिएको छ। “वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि बाल क्लबका सदस्यहरू सक्रिय भएर सहभागी भएका छन्,” उनले बताए। साथै, र्यालीमार्फत समुदायमा वातावरणीय चेतना फैलाउन सहयोग पुगेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै रुपान्तरण लिडर रविना चौधरीले भनिन्, “वातावरणसँग सम्बन्धित सचेतनामूलक र्याली र वृक्षारोपण कार्यक्रम अत्यन्त प्रभावकारी लाग्यो। यसले बालबालिकासँगै पछाडि परेका समुदायमा पनि पर्यावरण संरक्षणको भावना विकास गराउँछ।”

वडा अध्यक्ष सुरेन्द्र महतोले बाल क्लबको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू वातावरणीय सचेतनाका लागि आवश्यक रहेको बताए। “अब बालबालिकामात्र होइन, अभिभावकहरू पनि वृक्षारोपण र संरक्षणमा सक्रिय हुनुपर्छ,” उनले भने। साथै, उनले वडाबाट वातावरण संरक्षणका लागि बजेट सुनिश्चित गर्ने र आवश्यक परेमा व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी नगर उप–प्रमुख सुमित्रा देवी ग्वारीनले बोटबिरुवालाई बालबालिका सरह माया, मलजल र संरक्षण गर्न सबैलाई अनुरोध गरिन्। उनले वातावरण संरक्षणको जिम्मेवारी सबैले लिनुपर्नेमा जोड दिइन्।

Back to top