×

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–२, इनर्वास्थित सुनिता अरविन्द माध्यमिक विद्यालयमा चार कोठे नयाँ भवन निर्माण हुने भएको छ। आज एक कार्यक्रमबीच रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले सो भवनको शिलान्यास गर्नुभएको हो।

नेपाल सरकारको शर्त अनुदानबाट प्राप्त ५५ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको रामनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी दिनुभयो।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाभित्रका विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा जीर्ण भवनको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै स्थानीय सरकार अघि बढेको स्पष्ट पार्नुभयो। उहाँले शिक्षाको गुणस्तर सुधार र विद्यालयहरूको समग्र विकासमा यस्ता निर्माणले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक फेकु रायले नयाँ भवनले विद्यालयमा अध्ययन-अध्यापन सहज बनाउने र विद्यार्थीहरूमा सिकाइको वातावरण अझ उत्साहजनक बन्ने अपेक्षा व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजाबाबु यादव, वडा अध्यक्ष सादानन्द यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण यादव, शिक्षा शाखा प्रमुख फेकु राय यादव, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी अभिभावक र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Back to top