×

सर्लाही । पत्रकारिता क्षेत्रमा संलग्न व्यक्तिहरूको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सर्लाहीमा दुई दिने पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

तालिममा सहभागी पत्रकारहरूलाई समाचार लेखन, सही एंगलको छनोट, रिपोर्टिङका क्रममा अपनाउनु पर्ने सावधानी, मल्टिमिडिया सामग्रीको प्रयोग, मिथ्या सूचनाको पहिचान र न्यूनीकरण, साथै पत्रकार आचारसंहिताको पालना जस्ता महत्त्वपूर्ण पक्षहरूमा गहिरो प्रशिक्षण प्रदान गरिएको थियो ।

साथै, पत्रकारहरूको दीर्घकालीन पेसागत विकासमा टेवा पुग्ने विश्वासका साथ नेपाल र अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध पत्रकारिता फेलोसिप कार्यक्रमहरूको परिचय र सहभागिताका अवसरहरूबारे पनि जानकारी दिइएको थियो ।

तालिम सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले पत्रकारिताको सामाजिक उत्तरदायित्वबारे धारणा राख्दै यथार्थपरक सूचनाको आवश्यकतामाथि जोड दिए ।

विशेष अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पत्रकारिता समाजको ऐना भएकाले निष्पक्षता र सत्य तथ्यमा आधारित रिपोर्टिङ आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रवीन्द्र कार्की, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि तथा नागरिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तालिममा अनुभवी प्रशिक्षक अजित तिवारी र दिवाकर उप्रेतीले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरेका थिए । उनीहरूले समाचारको विषयवस्तु छनोटदेखि अन्तिम सम्पादनसम्मको प्रक्रिया, तथ्य जाँच, स्रोतको पुष्टि तथा डिजिटल उपकरणहरूको प्रयोगसम्बन्धी अभ्यासात्मक जानकारी दिए ।

तालिमको समापन सत्रमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, आयोजक संस्था सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंह र प्रशिक्षकद्वय तिवारी तथा उप्रेतीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै भविष्यमा अझ जिम्मेवार र व्यावसायिक पत्रकारितातर्फ लाग्न प्रेरणा प्रदान गरे ।

आयोजकका अनुसार यस तालिमले सर्लाही जिल्लाका पत्रकारहरूलाई अझ जिम्मेवार, सूचनामूलक र पेसागत पत्रकारिता अभ्यासमा सक्रिय बनाउने विश्वास गरिएको छ ।

Back to top