वीरगञ्ज । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा क्षेत्रमा सैन्य कारबाही तीव्र बनाउँदै त्यहाँ 'कब्जा' गर्ने योजनालाई औपचारिक स्वीकृति प्रदान गरेको छ।
इजरायली अधिकारीहरूका अनुसार यो योजना हमासविरुद्धको आक्रमणलाई थप सशक्त बनाउने र गाजामा रहेका बन्धकहरूलाई उद्धार गर्ने उद्देश्यले ल्याइएको हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मन्त्रिपरिषद्को निर्णयलाई 'हमासलाई पूर्ण रूपमा नष्ट गर्ने र बन्धकहरूलाई सुरक्षित फिर्ता ल्याउने' दिशामा महत्त्वपूर्ण कदम भएको बताएका छन्।
उनले गाजाका २१ लाख जनसङ्ख्यालाई 'सुरक्षित स्थान' मा स्थानान्तरण गर्ने योजना रहेको उल्लेख गरे, जसबाट मानवीय सङ्कटको समाधानमा सहयोग पुग्ने दाबी उनको छ।
यो योजनाअन्तर्गत गाजामा दुई महिनादेखि जारी नाकाबन्दी हटाउने र निजी कम्पनीहरूमार्फत मानवीय सहायता प्रदान गर्ने प्रस्तावलाई पनि सैद्धान्तिक सहमति दिइएको छ। संयुक्त राष्ट्र सङ्घले गाजामा खाद्यान्न, पानी र औषधिको चरम अभाव भएको चेतावनी दिँदै आएको छ।
गाजामा सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायल र हमासबीच तनाव जारी छ। इजरायली सेनाले हालसम्म गाजामा ५२ हजारभन्दा बढीको ज्यान लिइसकेको स्थानीय अधिकारीहरूले दाबी गरेका छन्।