×

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्तिसँग नक्कली नोट बरामद भएको हो।

सर्लाहीको छन्कीटोलास्थित प्रहरी चौकीबाट खटिएको टोलीले बुधवार साँझ भारततर्फबाट बीआर ३० एई ८३६३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेको थियो। मोटरसाइकल चलाइरहेका व्यक्तिको पहिचान भारतको बिहार राज्य, सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका–९ निवासी ३४ वर्षीय विश्वनाथ साह भएको प्रहरीले जनाएको छ।

चेकजाँच गर्दा साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट बरामद भएको र नेपाली रुपैयाँ ४,५९० र भारतीय रुपैयाँ ६,३४५ पनि फेला परेको थियो।

प्रहरीले साहलाई नक्कली र सक्कली नोट र मोटरसाइकलसहित नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा नक्कली नोटको ओसारपसार अझै सक्रिय रहेको संकेत गरेको छ।

Back to top