×

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१०, सुदामा टोलमा शुक्रबार साँझ दुई पक्षबीच भएको झडपमा १३ जना घाइते भएका छन्। पुरानो रिसिइबीका कारण उत्पन्न विवादले उग्ररुप लिँदा झडपमा दुवै पक्षका व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।

झडप सुवोध पासवान र भोला पासवान पक्षबीच भएको हो। सुवोध पासवान पक्षबाट ७० वर्षीय सुवोध पासवान, १५ वर्षीय शिवसागर पासवान, ४७ वर्षीय दिनेश पासवान, ३० वर्षीय हरेन्द्र पासवान, ७५ वर्षीय लखचन पासवान र १८ वर्षीय अंगद पासवान घाइते भएका छन्। उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उता, भोला पासवान पक्षबाट ७० वर्षीय सन्तलाल हजारी, उनका छोरा रुपेश पासवान, भिनाजु भारतीय नागरिक वीरेन्द्र पासवान, साथै महिलाहरू निक पासवान, कामनी देवी र पूजा देवीसहित सात जना घाइते भएका छन्। ती घाइतेहरूको जनकपुरमा उपचार भइरहेको बताइएको छ।

झडपका क्रममा धेरैजनालाई टाउको र खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए। घटनाको कारण र जिम्मेवार पक्षको पहिचानका लागि थप अनुसन्धान जारी रहेको र घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जनाएको छ।

Back to top