×

सिराहा । सिराहा जिल्लामा प्रहरीले फरक–फरक स्थानबाट ठूलो परिमाणमा नगद तथा लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७१ लाख ३ हजार नेपाली रुपैयाँ, ३५ हजार भारतीय रुपैयाँ र ब्राउन सुगर जस्तो गम्भीर लागूऔषध बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लहान नगरपालिका–२२ लबटोली निवासी ३२ वर्षीय दिनेशकुमार यादव र उनकी २६ वर्षीया बहिनी किरणकुमारी यादवको साथबाट प्रारम्भिक रूपमा २१ ग्राम ब्राउन सुगर, ५१ हजार रुपैयाँ र दुई थान मोबाइल बरामद गरिएको थियो ।

पछिल्लो अनुसन्धानका क्रममा उनीहरूको डेराबाट थप ५४ लाख १४ हजार नेपाली रुपैयाँ, ३५ हजार भारतीय रुपैयाँ र १८० ग्राम ब्राउन सुगर समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनामाथि लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई विस्तृत अनुसन्धान सुरु गरेको छ । अभियुक्त दिनेश यसअघि पनि लागूऔषध कारोबारको अभियोगमा छ महिना जेल सजाय भुक्तान गरिसकेका हुन् ।

त्यस्तै, सिराहा नगरपालिका–१७ निवासी ४५ वर्षीय सञ्जय कारकलाई प्रहरीले सिराहा–२ स्थित महावीर चोकबाट स्रोत नखुलेको १६ लाख ३८ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

अर्को घटनामा, औरही गाउँपालिका–३ निवासी २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय नीरज रायलाई प्रहरीले ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

सिराहा प्रहरीले पछिल्लो समय लागूऔषध तथा अवैध रकमको कारोबार विरुद्ध व्यापक अभियान चलाएको जनाएको छ। पक्राउ परेकाहरू विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Back to top