×

सप्तरी । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा दुई जना युवा–युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। छुट्टाछुट्टै स्थानमा फेला परेका उनीहरूको मृत्युपछि स्थानीयवासी र प्रहरीबीच चासो बढेको छ।

नगरपालिका–३, तत्मा टोल निवासी शंकर दासकी १७ वर्षीया छोरी नन्दनी कुमारी दास आइतबार दिउँसो करिब साढे ३ बजेतिर आफ्नै घरको माथिल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। घटनाको समयमा घरमा कोही नभएको बताइएको छ। उनले घरको काठको बलोमा साडीको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।

त्यस्तै, कञ्चनरुप नगरपालिका–८ स्थित चन्द्र नहर सिँचाइ उपभोक्ता संस्थाको कार्यालयको प्रमुखको कोठामा तिरहुत गाउँपालिका–३, गोइठी निवासी २० वर्षीय कमलकान्त माहात्मा यादव झुण्डिएको अवस्थामा फेला परेका छन्। उनी सोही कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत आफ्ना बुवासँगै बस्दै आएका थिए। घटनाको समयमा कार्यालय बन्द रहेको र त्यहाँ कोही पनि नरहेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो भने ‘सिन अफ क्राइम’ टिमले पनि अनुसन्धान प्रारम्भ गरिसकेको छ। सिँचाइ कार्यालयको घटनास्थलमा प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ।

दुबै घटनामा आत्महत्या भएको प्रारम्भिक आशंका गरिएको छ। यद्यपि घटनाको वास्तविकता पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।

Back to top