काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले "डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल" कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सरकारका नीति निर्मातादेखि अन्तर्राष्ट्रिय विकास साझेदार, निजी क्षेत्र, अनुसन्धानकर्ता, चेम्बर अफ कमर्स लगायत सरोकारवालाबीच डिजिटल रूपान्तरणका चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको थियो।
सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले साइबर सुरक्षासम्बन्धी कानुन र डिजिटल संरचना निर्माणमा सरकार गम्भीर रहेको बताए पनि मन्त्रालयभित्रैको असहयोगप्रति गुनासो गरे। संचार सचिव राधिका अर्यालले फ्रेमवर्क मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको जानकारी दिइन्।
छलफलमा सहभागीहरूले डिजिटल नेपाललाई व्यवहारमा कार्यान्वयन गर्न राजनीतिक इच्छाशक्ति, निजी क्षेत्रसँग सहकार्य, डिजिटल साक्षरताको अभिवृद्धि र कर प्रणालीमा सुधार आवश्यक रहेको धारणा राखे।
क्यान महासंघ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डिजिटल नेपाल फ्रेमवर्क २.० लाई देशको प्रविधि क्षेत्रको क्रान्तिकारी परिवर्तनको आधार बनाउन सकिने बताउँदै नागरिक, निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए।