×

सर्लाही । चन्द्रनगर गाउँपालिकामा केही दिनअघि भएको एक हत्याकाण्डले गाउँदेखि सम्पूर्ण जिल्लालाई स्तब्ध बनाएको छ । प्रेम सम्बन्धको जटिलताले जन्माएको प्रतिशोध र पारिवारिक षड्यन्त्रको घटनाले २८ वर्षीय अरविन्द कुमार पण्डितको ज्यान लिएको छ । प्रहरीले निर्मम हत्यामा संलग्न भएको आरोपमा एकै परिवारका छ जनालाई पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका–६ चिरानटोलकी विवाहित महिला नजिमा खातुन र मृतक अरविन्द पण्डितबिच अवैध प्रेम सम्बन्ध रहेको खुलेको छ । नजिमाका श्रीमान् मोस्तकिम अन्सारीले पत्नी हराएको भन्दै गत चैत १९ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दर्ता गराएका थिए । प्रहरी अनुसन्धानले खातुन र पण्डित भारततर्फ गएको पुष्टि गरेको थियो ।

वैशाख १९–२० मा उनीहरू नेपाल फर्किएपछि स्थानीय पञ्चको मध्यस्थतामा नजिमा श्रीमानको घर फर्किएकी थिइन् । तर, पण्डितको बारम्बार खातुनको घरमा आउजाउले अन्सारी परिवारमा आक्रोश बढ्दै गयो । यही रिस र प्रतिशोधले अन्ततः त्रासदीपूर्ण घटनालाई निम्त्यायो ।

प्रहरीका अनुसार वैशाख २८ गते बिहान नजिमा खातुनले पण्डितलाई ईश्वरपुर–८ को फुलजोर खोलाको छेउमा भेट्न बोलाएकी थिइन् । त्यहाँ पहिलेदेखि नै तयारी अवस्थामा रहेका नजिमाका परिवारका सदस्यहरूले योजनाबद्ध रूपमा पण्डितको हत्या गरे । हत्या गरेर शवलाई परालले छोपेर खोलाको किनारमा लुकाइएको थियो । पछि, घटनालाई थप गोप्य राख्न शवलाई करिब ५०० मिटर टाढाको उखुबारीमा सारिएको थियो । प्रहरीले सोही उखुबारीबाट पण्डितको कुहिएको शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न छ अभियुक्तलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नजिमा खातुन, उनका श्रीमान् मोस्तकिम अन्सारी, छोरा रजाक अन्सारी (२९), सुयब अन्सारी (४०), कोनुर आलम अन्सारी (२५), सलाउद्दिन अन्सारी (५४) र मोहम्मद हुसैन मोमिन छन् ।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडकाले बताए । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप विवरण खुल्ने प्रहरीको भनाइ छ ।

हत्याकाण्ड केवल प्रेम सम्बन्धको परिणाम मात्र होइन, सामाजिक मर्यादा र पारिवारिक इज्जत जोगाउने नाममा भएको सामूहिक अपराधको डरलाग्दो उदाहरण हो । विवाह संस्था र वैवाहिक बन्धनभित्र प्रेमको विचलनले कसरी योजनाबद्ध षड्यन्त्र र हत्यामा परिणत हुन सक्छ भन्ने घटना ज्वलन्त उदाहरण बनेको छ ।

सर्लाहीको घटनाले प्रेम, विश्वासघात र प्रतिशोधको जटिल मनोविज्ञानलाई उजागर गरेको छ । साथै, सामाजिक मूल्य–मान्यताको आडमा हुने अपराधले समाजलाई कसरी गहिरो चोट पुर्‍याउँछ भन्ने प्रश्न पनि खडा गरेको छ ।

Back to top