वीरगञ्ज । साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज वीरगञ्जमा सुरु भएको छ । नेपाल आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासङ्घ पर्साको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन मधेस प्रदेशका सांसद श्याम पटेलले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै सांसद पटेलले वर्तमान समयको राजनीति जस्तै मिडियामा पनि “छाडापन” बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
सांसद पटेलले मिडियाको प्रभावलाई इङ्गित गर्दै भने, “मिडियाले चाहे हिरो बनाइदिन्छ, चाहे जिरो । त्यसैले मिडिया गम्भीर र जिम्मेवार हुन आवश्यक छ ।” उनले बढ्दो युट्युबर र अनियन्त्रित सामग्रीका कारण पत्रकारिताको स्तर घटिरहेको बताउँदै पत्रकारहरूलाई निष्पक्ष र उत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल आमसञ्चार प्राधिकरण, मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खरगले बोल्दै प्रदेशका सञ्चारकर्मीको उत्थान र विकासका लागि प्राधिकरण कटिबद्ध रहेको बताए । उनले हालसम्म प्रदेशभर चार सय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा भइसकेको जानकारी दिँदै अझ बाँकी पत्रकारलाई पनि बिमा योजनामा समेटिने बताए । अध्यक्ष खरगले पत्रकारहरूलाई बिमा योजनाबाट अधिकतम लाभ लिन सचेत बन्न अनुरोध गरे ।
कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई साइबर सुरक्षा र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी समसामयिक विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहित विभिन्न पत्रकार सङ्गठनका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमले पत्रकारहरूलाई डिजिटल युगको चुनौतीसँग जुध्न आवश्यक ज्ञान र चेतना प्रदान गर्नुका साथै, मिडिया क्षेत्रमा व्यावसायिकता र मर्यादा अभिवृद्धि गर्ने उद्देश्य लिएको आयोजक पक्षले जनाएको छ ।