×

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाउँदै सञ्चार क्षेत्रको विकास र पत्रकारहरूको हकहितका लागि विभिन्न मागहरू प्रस्तुत गरेको छ ।

जनकपुरधामस्थित मुख्यमन्त्रीको सरकारी निवास मधेस भवनमा महासङ्घका अध्यक्ष श्याम प्रसाद बन्जारा नेतृत्वको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा उल्लेख गरिएअनुसार, मधेस प्रदेशको राजधानी जनकपुरधाममा महासङ्घको कार्यालय हाल भाडाको घरमा सञ्चालन भइरहेको छ र आर्थिक अभावका कारण दैनिक कार्य सञ्चालनमा कठिनाइ भइरहेको छ । प्रदेशका विभिन्न जिल्लाबाट जनकपुरधाम आउने पत्रकारहरूका लागि आवास तथा कार्यसम्पादनमा असहजता रहेको जनाउँदै, महासङ्घले स्थायी भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ । यसका लागि आवश्यक जग्गा गुठी संस्थानसँग लिजमा प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पनि दिइएको छ ।

मुख्यमन्त्री सिंहले पत्रकार महासङ्घको भवन निर्माणका लागि चालु आर्थिक वर्षमै बजेट विनियोजन गरिएको भए पनि आवश्यक जग्गा नहुनाले खर्च गर्न नसकिएको स्पष्ट पारे । उनले भवन निर्माणका लागि आवश्यक जग्गा सुनिश्चित भए लगत्तै प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । “बजेट ल्याउनुभन्दा पहिले जग्गा सुनिश्चित गर्नुस्, प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्छ,” उनले भने ।

ज्ञापन पत्रमा भवन निर्माणबाहेक पत्रकारहरूको कल्याणका लागि कोष स्थापना, सुरक्षा तालिम, बिमा, सामाजिक सुरक्षा, सञ्चार उपकरण खरिद, महिला पत्रकार तालिम तथा जिल्ला शाखा कार्यालय व्यवस्थापनलगायतका विषयहरूमा माग गरिएको छ । महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यिनै विषयहरू समेट्न आग्रह गरेको छ ।

महासङ्घले प्रदेश सरकारसँग कुल आठ बुँदामा आर्थिक व्यवस्थापनको माग गर्दै ८ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजनको प्रस्ताव गरेको छ । तीमध्ये प्रदेश समितिको भवन निर्माणका लागि ३ करोड रुपैयाँ, पत्रकार कल्याण कोष एवं अक्षय कोष निर्माणका लागि २ करोड रुपैयाँ, पत्रकार सुरक्षा तालिमका लागि ५० लाख रुपैयाँ, लेखनवृत्ति तथा क्षमता अभिवृद्धि तालिमका लागि ८० लाख रुपैयाँ, प्रदेश कार्यालय व्यवस्थापनका लागि १५ लाख रुपैयाँ, आठ जिल्ला शाखा कार्यालय व्यवस्थापनका लागि ६४ लाख रुपैयाँ, महिला पत्रकार तालिमका लागि ५० लाख रुपैयाँ र सञ्चार उपकरण खरिद अनुदानका लागि ५० लाख रुपैयाँ बजेट माग गरिएको छ ।

महासङ्घका अध्यक्ष बन्जाराले प्रदेश सरकारले पत्रकारिताको विकासमा देखाएको सकारात्मक पहलको स्वागत गर्दै सञ्चार क्षेत्रलाई थप सशक्त बनाउन नीति तथा कार्यक्रममा प्राथमिकता दिन आग्रह गरे ।

ज्ञापन पत्र बुझाउन महासङ्घका केन्द्रीय लेखा आयोग संयोजक केसी लामिछाने, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’लगायतका शीर्ष पदाधिकारीहरू सहभागी थिए ।

Back to top