बारा । डिजिटल युगमा बढ्दो प्रविधि प्रयोगसँगै साइबर सुरक्षाको महत्व झनै बढिरहेको सन्दर्भमा बाराको कोल्बीमा ‘साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन प्रदेश सांसद तथा पूर्वमन्त्री जितेन्द्र सोनलले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै सोनलले देश कहिल्यै पछाडि फर्कने (ब्याक गेयरमा जाने) अवस्था नरहेको भन्दै समृद्धि र उन्नतितर्फ सबै नेपाली लाग्नुपर्ने आवश्यकता औंल्याए।
उनले अहिलेको युगलाई अत्यन्तै संवेदनशील युगको रूपमा व्याख्या गर्दै प्रविधिको अवसरसँगै चुनौतीहरू पनि थपिएको उल्लेख गरे। “आजको पत्रकारिता पनि प्रविधिसँग अपडेट हुँदै जानुपर्छ,” उनले भने।
सोनलले नेपाल पत्रकार महासंघ बाराको भवन जीर्ण अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्रालयमार्फत व्यवस्थापन गराउने र निजी रूपमा गोप्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारितालाई देशको तेस्रो आँखा र चौथो अङ्गको रूपमा वर्णन गर्दै जनमानसमा यसप्रतिको धारणा सुधार्न पनि आग्रह गरे।
संघीय लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्धता व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारे। “देशमा हरेक क्षेत्रमा केही कमजोरी छन्, तर यसलाई बदनाम गराउने तत्वहरू सक्रिय छन्, त्यसप्रति राज्य पनि सचेत रहनुपर्छ,” उनले जोड दिए।
साइबर सुरक्षाका सन्दर्भमा बोल्दै उनले डिजिटल प्रणालीप्रति बढ्दो निर्भरताका कारण व्यक्तिगत, संस्थागत र राष्ट्रिय सुरक्षामा खतरा बढेको बताउँदै साइबर सजगता आजको आवश्यकता भएको उल्लेख गरे।
कार्यक्रममा पत्रकार, सूचना प्रविधि क्षेत्रमा संलग्न व्यक्तिहरू, सुरक्षाकर्मी, समाजसेवी र विद्यार्थीहरूको सहभागिता रहेको थियो। अभिमुखिकरण कार्यक्रम नेपाल पत्रकार महासंघ, बारा शाखाको समन्वयमा र आम सञ्चार प्राधिकरण, मधेस प्रदेशको आयोजनामा सम्पन्न भएको हो।