×

मुम्बई । करण जोहरको फिल्म ‘होमबाउन्ड’ क्यान्स २०२५ मा निकै चर्चित बन्यो। यस फिल्मलाई ९ मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त भएको थियो। तर, अहिले यो फिल्मका सिनेमाटोग्राफर प्रतीक शाहमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ।

धर्मा प्रोडक्सन्सले प्रतीक शाहविरुद्ध आएका आरोपबारे आधिकारिक वक्तव्य जारी गरेको छ। वक्तव्यमा प्रतीकले धर्मा प्रोडक्शन्ससँग सीमित समयका लागि काम गरेको र त्यो अवधिमा फिल्ममा काम गर्ने कुनै पनि कलाकार वा क्रू सदस्यबाट उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएको उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ, ‘धर्मा प्रोडक्सन्समा काम गर्ने हरेक व्यक्तिसँग सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्ने हाम्रो नीति हो। हामी यौन दुर्व्यवहारका मामिलालाई निकै गम्भीरताका साथ लिन्छौँ र हाम्रो कम्पनीमा यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति छ। प्रतीक शाह होमबाउन्ड प्रोजेक्टमा फ्रिलान्सरका रूपमा सीमित अवधिका लागि काम गरेका थिए र उनीसँग हाम्रो सहकार्य समाप्त भइसकेको छ। सो अवधिमा हाम्रो आन्तरिक कमिटीलाई होमबाउन्डका कुनै पनि कास्ट वा क्रू सदस्यबाट उनीविरुद्ध कुनै पनि उजुरी प्राप्त भएको थिएन।’

गत ३१ मे मा फिल्ममेकर हंसल मेहताले आफ्नो एक्स (ट्विटर) ह्यान्डलमा लेखेका थिए, ‘सत्ताको शक्तिशाली स्थानमा रहेका पुरुषहरूको हिंसात्मक व्यवहारको गहन छानबिन हुनु आवश्यक छ।’

उनले कसैको नाम नलिए पनि आफ्नो ट्विटमा लेखेका थिए, ‘दुर्व्यवहार मौनतामा मौलाउँछ। यो डरको वातावरणमा मौलाउँछ।’

त्यसअघि २९ मे मा स्वतन्त्र फिल्ममेकर अभिनव सिंहले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा प्रतीक शाहविरुद्ध लामो नोट लेखेका थिए। उनले आफ्नो स्टोरीमा प्रतीकलाई म्यानिपुलेटिभ र इमोसनली अब्युसिभ (भावनात्मक रूपमा दुर्व्यवहार गर्ने) भनेका थिए। उनले इन्स्टाग्राममा पोस्ट गरेपछि झण्डै २० जना युवतीहरूले उनलाई सम्पर्क गरेर प्रतीकविरुद्ध गम्भीर आरोप लगाएको अभिनवको दाबी छ।

मामिला बढेपछि प्रतीकले आफ्नो सोसल मिडिया डिलिट वा डिएक्टिभेट गरेका छन्।

अभिनवको पोस्टपछि लेखिका सृष्टि रिया जैनले पनि इन्स्टाग्राम स्टोरीमा प्रतीक शाहमाथि आरोप लगाएकी छिन्। प्रतीकले उनलाई पछिल्ला चार वर्षदेखि अनुचित सन्देशहरू पठाउँदै आएको रियाले दाबी गरेकी छिन्।

दैनिक भास्करबाट

Back to top