×

बारा । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कलैयामा कार्यरत सूचना अधिकारी पंकज महतोमाथि सार्वजनिक सूचना नदिएको आरोप लागेको छ।

सूचना माग गर्दा विभिन्न बहाना बनाउँदै टार्ने र सूचना छुपाउने प्रयास गरेको भन्दै महतो विवादमा तानिएका हुन्। उनी ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयअन्तर्गतको सो कार्यालयमा सब इन्जिनियर (अधिकृत छैठौं) पदमा कार्यरत छन्।

महतोले आफुलाई “बिना कारण” सूचना अधिकारी बनाइएको दाबी गर्दै यस जिम्मेवारीबाट पन्छिन खोजेको देखिएको छ। “सूचना अधिकारी सातौं तहको अधिकृत हुनुपर्छ,” भन्दै उनले आफुलाई तत्कालीन कार्यालय प्रमुखले ‘फसाएको’ आरोपसमेत लगाएका छन्।

कार्यालयमा चालु तथा निर्माणाधीन योजनाहरूको विवरण माग गर्दा महतोले सूचनाको लागि निवेदन अनिवार्य हुने र कार्यालय प्रमुखको आदेश विना केही नदिइने अडान राखेका थिए। यस किसिमको व्यवहारले सूचना प्रवाहमा अवरोध सिर्जना भएको पत्रकारहरूको गुनासो छ।

कार्यालय स्रोतका अनुसार, महतो योजनामा कमिशन मिलाउने 'सेटिंग' मा संलग्न रहेको आरोपसमेत लागेको छ। सोही कारण पत्रकारहरूलाई सूचना नदिएको र “सेटिंगको जालो भत्कने डर” ले उनले सूचना लुकाएको हुन सक्ने आशंका स्रोतले व्यक्त गरेको छ।

तर, महतोले आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै भने, “म कुनै सेटिंगमा लागेको छैन। मन्त्रालयबाट आएको चिठी वडामा पठाएर उपभोक्ता समिति बनाएपछि मात्रै काम अगाडि बढाउने प्रक्रिया अपनाएको हुँ।”

सूचना लुकाउने प्रवृत्तिबारे जिल्ला प्रशासन र सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

Back to top