सर्लाही । सर्लाहीको मलंगवास्थित प्रदेश अस्पतालले एकैदिन तीनवटा उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया (C-section) सफलतापूर्वक सम्पन्न गर्दै मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
अस्पताल प्रशासनका अनुसार ती सबै शल्यक्रिया सुरक्षापूर्वक सम्पन्न भएका छन् र आमा तथा नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य छ।
२२ वर्षीया गर्भवतीमा उच्च रक्तचापसम्बन्धी जटिलता प्रि-एक्लेम्प्सिया र भ्रूणको अत्यधिक तौल म्याक्रोसोमिया देखा परेको थियो। ४० हप्ता ६ दिनको गर्भावस्थापछि चिकित्सक टोलीले ३६५० ग्राम तौलको जीवित छोराको सफल सिजेरियनमार्फत जन्म गराएका छन्।
२५ वर्षीया महिलाको यसअघि दुईपटक सिजेरियन गरिएको थियो। पुन: तेस्रोपटक शल्यक्रिया गरिँदै ३४५० ग्राम तौलको छोराको सुरक्षित जन्म दिइएको हो।
२४ वर्षीया गर्भवती, जसलाई गर्भकालीन मधुमेह (गेस्टेशनल डायबेटिज) थियो, उनीमाथि पनि सावधानीपूर्वक सिजेरियन गरिएको छ। शल्यक्रियाबाट ३२६० ग्राम तौलकी छोरीको जन्म सफलतापूर्वक गराइएको छ।
तीनवटै जटिल शल्यक्रिया वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादवको नेतृत्वमा सम्पन्न भएका हुन्। चिकित्सक टोलीमा स्क्रब नर्स SN पितुल, रिंकु यादव, बिना यादव र एनेस्थेसिया निरीक्षक राकेश यादव सहभागी थिए।
"उच्च जोखिममा रहेका तीनवटा केसहरू सफलतापूर्वक सम्पन्न हुनु सर्लाहीमा सुरक्षित मातृत्व सेवाको सशक्त संकेत हो," डा. यादवले बताए। "हामी आमाहरू र नवजात शिशुहरूको स्वास्थ्यप्रति पूर्णतः प्रतिबद्ध छौं।"
अस्पताल प्रशासनले सबै सदस्यहरूको दक्षता र समन्वयका कारण कुनै पनि शल्यक्रियामा जटिलता नदेखिएको स्पष्ट पारेको छ।