×

सर्लाही । बलरा नगरपालिकाले नगरभित्रका कक्षा ११ पास गरेका किशोरीहरूलाई साइकल वितरण गर्दै शिक्षा क्षेत्रमा ऐतिहासिक कदम अघि सारेको छ। नगरपालिकाको आफ्नै लगानीमा सञ्चालन गरिएको यो कार्यक्रमले टाढाटाढाबाट पैदल विद्यालय आउँदा भोग्नुपरेको कठिनाइ घटाउने मात्र होइन, किशोरीहरूको आत्मबल, सुरक्षा र शिक्षामा निरन्तरतामा समेत उल्लेखनीय सहयोग पुर्‍याएको छ।

नगरपालिकाको यो पहल विद्यालय छाड्ने दर न्यूनीकरण, किशोरीहरूलाई उच्च शिक्षामा प्रोत्साहन र बालविवाह नियन्त्रण गर्ने उद्देश्यसहित गरिएको हो। नगर प्रमुख रामाशंकर कुशवाहाले साइकल वितरण कार्यक्रममा बोल्दै भने, “साइकल मात्र हैन, यो सपना चलाउने साधन हो। जब शिक्षाको बाटो टाढा हुन्छ, सपना बीचमै रोकिन्छन्। त्यो दूरी घटाउने काम साइकलले गर्नेछ।”

साइकल प्राप्त गरेपछि कक्षा १२ मा अध्ययनरत साहारा सिंहले अनुभव साट्दै भनिन्, “पहिले बिहानै हिंडेर आउँदा डर लाग्थ्यो। अब साइकल पाएकाले समयमै विद्यालय पुगिन्छ र मन पनि सुरक्षित महसुस हुन्छ।”
त्यस्तै, मनिषा कुमारी यादवले भनिन्, “घरबाट विद्यालय आउन ४५ मिनेट लाग्थ्यो। गर्मीमा झन् गाह्रो हुन्थ्यो। अहिले साइकल पाएकाले पढाइमा ध्यान दिन सकिन्छ।”

कार्यक्रममा प्रमुख अतिथि एवं पूर्व संविधानसभा सदस्य शिवपूजन रायले यस्तो कार्यलाई अझ तीव्रता दिन जरुरी रहेको उल्लेख गर्दै स्थानीय तहले अपनाएको सक्रियताको प्रशंसा गरे।

सुधा राजेश्वर माविका प्रधानाध्यापक सतेन्द्र कुमार यादवले स्थानीय सरकारको यो कदमलाई “ऐतिहासिक, सराहनीय र उदाहरणीय” भन्दै यसले गुणस्तरीय शिक्षामा पहुँच विस्तारमा सहयोग पुग्ने बताए। उनले नगर प्रमुख रामाशंकर कुशवाहाबाट यस्ता कामको निरन्तरताको अपेक्षा समेत व्यक्त गरे।

बलरा नगरपालिका शिक्षा शाखा संयोजक धरिक्षण प्रसाद कुशवाहाका अनुसार, साइकल वितरणले टाढाबाट विद्यालय आउने किशोरीहरूको विद्यालयमा उपस्थिति बढाउने विश्वास गरिएको छ। “साइकलले उनीहरूलाई समयमै विद्यालय आउन सजिलो बनाउनेछ, जसले पढाइमा निरन्तरता दिन प्रेरणा दिनेछ,” उनले भने।

हालसम्म बलरा–८ स्थित जनता नमुना माविका ३७ छात्रा र बलरा–११ स्थित सुधा राजेश्वर माविका १८ छात्रा, गरी ५५ जनालाई साइकल वितरण गरिएको छ। बाँकी छात्रालाई बलरा–५ का रामसखी मोहीत माविबाट तथ्यांक प्राप्त भएपछि साइकल वितरण गरिने जनाइएको छ।

नगर प्रमुख कुशवाहाले आफू निर्वाचित भएदेखि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै आएको र हालसम्म नगरको कुल बजेटको ४०–५० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिएको जानकारी गराएका छन्।

बलरा नगरपालिकाको यो अभियानले किशोरीहरूलाई शिक्षामा समावेशी बनाउने, विद्यालयसम्मको पहुँच सजिलो बनाउने र आत्मबल अभिवृद्धि गर्ने दिशामा प्रेरणादायी कार्यको उदाहरण प्रस्तुत गरेको छ। यसले अन्य स्थानीय तहहरूलाई पनि किशोरी शिक्षामा लगानी गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Back to top