×

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–२ बेल्वाजब्दीका राजकुमार महतो र उनका छोरा रञ्जित महतो ज्योति लाइफ इन्स्योरेन्सका नाममा ठगीमा परेका छन्। बीमा गराइदिने बहानामा एजेन्ट किस्कान्त महतोले दुई किस्तामा नगद उठाएर सम्पर्कविहीन भएपछि ठगीको गम्भीर घटना सार्वजनिक भएको हो।

पीडित राजकुमार महतोका अनुसार, एजेन्ट महतोले सन् २०७८ माघ ६ गते पहिलो किस्तामा १ लाख १६ हजार ६ सय ४० रुपैयाँ बुबाबाट लिएका थिए। त्यसको १० महिनापछि २०७९ मंसिर २७ गते छोरा रञ्जितको बीमा गरिदिने भन्दै सोही रकम दोहोर्याएर असुले। तर बीमा रकम खातामा जम्मा नगरी एजेन्ट सम्पर्कविहीन भएका हुन्।

बीमा कार्यालय पुगेपछि मात्र उनीहरूले आफ्नो नाममा बीमा खातामै रकम नभएको थाहा पाएका थिए। पुरानो रसिद रंगीन र पछिल्लो सादा भएको शंकाका आधारमा अनुसन्धान गर्दा ठगी पुष्टि भएको हो।

त्यसपछि पीडितले महतोसँग सम्पर्क गर्न खोज्दा उनले फोन नउठाउने, घरमा हुँदा पनि बाहिर रहेको बताउने, भेट्न नमानेका थिए। पछि आफन्तको सहयोगमा घरमै भेट्दा उनले २०८० फागुन १० गतेभित्र पैसा फिर्ता गर्ने सहमति गरेका थिए। तर त्यो पनि कार्यान्वयन नहुँदा पीडित अझै आर्थिक र मानसिक पीडामा छन्।

ठगीको घटना उजागर भएपछि एजेन्ट महतोले पीडितहरूलाई उल्टै धम्की दिन थालेको पीडित रञ्जित महतोले बताएका छन्। “हामी डरको वातावरणमा छौं,” उनले भने।

पीडितले २०८१ कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा दलालविरुद्ध ठगीको उजुरी दिएका थिए। तर, दुई महिना बितिसक्दा पनि प्रशासन वा प्रहरीले कुनै कारबाही अघि नबढाएको उनीहरूको गुनासो छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई जानकारी गराउँदा ‘जाँच गरेर कानुनी प्रक्रिया अघि बढाउने’ आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रगति नभएको पीडितको आरोप छ।

ज्योति लाइफ बीमा कम्पनी हरिवन शाखाका शाखा अधिकृत दिनेश साहका अनुसार किस्कान्त महतो लामो समयदेखि सम्पर्कमा छैनन्। “उनी फोनसमेत नउठाउने भएका छन्,” साहले बताए। उनका अनुसार महतोविरुद्ध कैयौं सेवाग्राहीहरूले ठगीको उजुरी दिएका छन्। “यस्ता दलालका कारण कम्पनीको छवि बिग्रिएको छ,” साहले भने।

उनले केही पीडितलाई प्रहरीमा उजुरी गर्न सुझाव दिएको पनि बताए। “यदि आवश्यक परे जहाँ पनि उपस्थित हुन तयार छु,” साहले जनाए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बलिस्टर सिंहका अनुसार बीमा ठगीसम्बन्धी पत्र जिल्ला प्रशासन कार्यालयबाट आफूहरूले प्राप्त गरेका छैनन्। “हामीलाई पत्र आएको भए दुवै पक्षलाई बोलाएर अनुसन्धान अगाडि बढाउँथ्यौं,” उनले भने।

साथै, पीडित चाहे जिल्ला प्रहरी कार्यालयमा सिधै उजुरी दिन सक्ने व्यवस्था रहेको भन्दै “प्रशासन हुँदै आउँदा कानुनी दृष्टिकोणले बलियो आधार बन्न सक्छ” भन्ने धारणा पनि उनले व्यक्त गरे।

एक लाखभन्दा बढी रकम गुमाएर मानसिक र आर्थिक पीडामा रहेका महतो परिवार न्यायको खोजीमा भौतारिन बाध्य छन्। यो घटनाले गाउँ–घरमा बढ्दो बीमा दलाली, नियमनको अभाव, र पीडितप्रति राज्यको बेवास्तालाई उजागर गरेको छ। न्याय र कारबाहीका लागि सरोकारवाला निकायको तत्परताको आवश्यकता देखिएको छ।

Back to top