वीरगञ्ज । साइबर सुरक्षाको महत्वबारे जनमानसमा चेतना फैलाउन र डिजिटल युगमा बढ्दो साइबर अपराधविरुद्ध सचेतना जगाउने उद्देश्यसहित पर्सा जिल्ला प्रहरी कार्यालयको अगुवाइमा एक दिने साइबर क्राइम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयको सभाहलमा कक्षा ७ का सम्पूर्ण विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको विशेष उपस्थिति रहेको थियो।
प्रशिक्षण कार्यक्रममा डिजिटल संसारमा सचेत र जिम्मेवार भएर चल्नुपर्ने, सामाजिक सञ्जालको दुरुपयोगबाट जोगिनुपर्ने, पासवर्ड सुरक्षाको महत्व, अनलाइन ठगीका जोखिम र समाधानका उपाय जस्ता विषयमा विस्तृत जानकारी दिइएको थियो।
एसपी गौतम मिश्राले भने, “डिजिटल युगसँगै साइबर अपराधको जोखिम पनि तीव्र गतिमा बढिरहेको छ। त्यसैले प्रत्येक नागरिकले अनलाइन संसारमा सचेत, जिम्मेवार र नैतिक बन्नुपर्ने आवश्यकता छ। साइबर अपराधलाई रोक्न प्रहरी मात्र होइन, जनस्तरमै चेतना आवश्यक छ।”
"सत्य, सेवा, सुरक्षा" मूल नारासहित नेपाल प्रहरीले सञ्चालन गरिरहेको यो जनचेतनामूलक सप्ताह अन्तर्गत विभिन्न विद्यालय, क्याम्पस, सार्वजनिक स्थान तथा सामाजिक सञ्जालहरू मार्फत साइबर सुरक्षा सम्बन्धी सचेतना फैलाउने कार्य भइरहेको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्तो प्रशिक्षणले आफूहरूलाई अनलाइन सुरक्षाबारे गहिरो जानकारी दिएको प्रतिक्रिया दिएका थिए। विद्यालय प्रशासनले नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेको छ।