सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा एक युवकको निर्मम हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–८ निवासी ३२ वर्षीय राजकुमार खंगको घाँटी रेटिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो ।
स्थानीयवासीले बिहान करिब ८ बजे खेतछेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ भने शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।
निमित्त प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले हत्या अत्यन्तै क्रूर ढङ्गले गरिएको देखिएकाले घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको बताए । पछिल्लो समय जिल्लामा आपराधिक घटनाहरू बढ्दै गएकाले सर्वसाधारण त्रसित बनेका छन् ।
प्रहरीले मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको विशेष टोली समेत घटनास्थलमा खटाएको छ । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन भने केही शङ्कास्पद व्यक्तिहरूको निगरानी तथा सोधपुछ भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
सप्तरी प्रहरीले घटनाको गम्भीरता बुझेर अनुसन्धान तीव्र बनाएको जनाएको छ । हत्या कसले, किन र कसरी गर्यो भन्ने विषयमा छिट्टै तथ्य बाहिर ल्याइने प्रहरीको भनाइ छ ।