रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले ठुलो मात्रामा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा जिल्ला स्थायी ठेगाना भई हाल भारतबाट नेपाल प्रवेश गरिरहेका ३१ वर्षीय निलकुमार थापा मगर रहेका छन् ।
बुधवार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मगरलाई भन्सार सुरक्षा गार्डको टोलीले शङ्का लागेपछि जाँच गरेको थियो । जाँचको क्रममा उनको साथबाट लागू औषध बरामद भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक कुमार रायले जानकारी दिए ।
प्रहरीका अनुसार, थापा मगरको साथबाट नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध र एक थान मोबाइल बरामद गरिएको छ ।
प्रहरीले उनलाई लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गराएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रहरीले लागूऔषध नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएको पनि जनाएको छ ।