×

भेनिस । अमेजनका संस्थापक जेफ बेजोस र पत्रकार लरेन सान्चेज बेजोसले अन्ततः भव्य समारोहबिच इटालीको भेनिसमा विवाह गरेका छन् । यद्यपि यो विवाहलाई लिएर विश्वभर आलोचना र प्रदर्शनहरू पनि भएका छन्।

शुक्रबार भेनिसमा आयोजना गरिएको यो विवाह समारोहमा विश्वका थुप्रै चर्चित हस्तीहरूको उपस्थिति देखिएको थियो। तीन दिनसम्म चलेको विवाह उत्सव शनिबार, जुन २८ मा समाप्त भयो।

विवाहमा ए–लिस्ट सेलिब्रेटीहरू सहभागी भएका थिए । यसमा बिल गेट्स, ओप्रा विन्फ्रे, लिओनार्डो डिक्याप्रियो, टम ब्राडी. ओरलान्डो ब्लूम र उनकी प्रेमिका भिक्टोरिया सेरेटी. किम र क्लोए कार्दाशियन, केन्डल र कायली जेनर, क्रिस जेनर, मोडल ब्रुक्स नेडरलगायत समावेश थिए ।

प्रदर्शन र आलोचना
बेजोसको यो भव्य विवाहले धनी–गरिबको असमान अन्तर, कर नतिर्ने धनीहरूप्रति असन्तुष्टि, र जलवायु असर जस्ता विषयमा आलोचना र विरोध जन्माएको थियो। बेजोसलाई अधिक कर तिर्नुपर्ने मागसहित भेनिसमा प्रदर्शनहरू भएका थिए।

यस्तो भव्य कार्यक्रमले स्थानीय वासिन्दाको जीवन, आवास पहुँच र वातावरणीय सन्तुलनमा असर पारिरहेको प्रदर्शनकारीहरूको भनाई थियो ।

2

खर्च कति भयो?
यस विवाहमा खर्च गरिएको रकमको ठ्याक्कै विवरण नभए पनि रायटर्स र यूएसए टुडेका अनुसार खर्च ४६.५ मिलियनदेखि ५५.६ मिलियन डलरको बिचमा रहेको अनुमान गरिएको छ। सुरुमा २०–३० मिलियन युरो भनिए पनि सुरक्षा कारणले स्थान परिवर्तन गरिएपछि खर्च झन बढेको बताइएको छ।

शनिबार राति एक पूर्व-मध्ययुगीन सिपयार्ड आयोजना भएको अन्तिम दिनको समारोहमार्फत विवाह उत्सवको समापन गरियो। यस समारोहमा लेडी गागा र एल्टन जोनले लाइभ प्रस्तुति दिने कार्यक्रम तय गरिएको थियो।

५५ वर्षीया सान्चेज र ६१ वर्षीय बेजोस सन् २०१९ मा पहिलोपटक सार्वजनिक रूपमा एकसाथ देखिएका थिए । त्यसबेला दुवैले आ-आफ्ना पुराना सम्बन्ध टुङ्ग्याएका थिए।

बेजोसले पूर्वपत्नी म्याकेन्जी स्कटसँग सम्बन्ध विच्छेद गरेका थिए, जससँग उनका चार सन्तान छन्। सान्चेजले एजेन्ट प्याट्रिक ह्वाइटसेलसँग सम्बन्ध विच्छेद गरेकी थिइन्, जससँग उनको दुई सन्तान छन्। त्यसबाहेक, सान्चेजको पूर्व एनएफएल खेलाडी टोनी गोन्जालेजसँग पनि एक सन्तान छ ।

Back to top