साङ्केतिक तस्बिर ।
वीरगञ्ज । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अहिले मधेस प्रदेशबाहेकका अन्य प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गएको राति पूर्वी, मध्य र पश्चिमका केही जिल्लामा भारी वर्षा भएको छ। विशेषगरी सङ्खुवासभा, सिन्धुपाल्चोक र कास्कीमा ठूलो पानी परेको हो। मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो १२ घण्टामा सङ्खुवासभामा सबैभन्दा धेरै ८६.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् दाहालले जानकारी दिनुभयो।
काठमाण्डौ उपत्यकामा पनि दिउँसो मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैबीच, सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह केही बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपासका क्षेत्रमा बाढीको सम्भावनासहित सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
त्यस्तै, देशभरका भिरालो र पहाडी भूभागमा पहिरोको जोखिम पनि उच्च रहेकाले महाशाखाले यात्रारत र प्रभावित क्षेत्रमा रहने नागरिकहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।