×

भारतको बिहार राज्यमा पछिल्ला वर्षहरूमा एक गहिरो राजनीतिक रूपान्तरणको सङ्केत देखिएको छ । यो रूपान्तरण कुनै पार्टी विशेषको जित–हारमा मात्र सीमित छैन, यो जन–राजनीतिमा आम मानिसको सहभागिता र चेतनाको पुनर्जागरण हो । र यसको केन्द्रमा छन्—प्रशान्त किशोर ।

राजनीतिक रणनीतिकारका रूपमा पहिचान बनाइसकेका प्रशान्त किशोरले ‘जन सुराज अभियान’ को माध्यमबाट राजनीति फेरि जनताको हातमा फिर्ता ल्याउने प्रयास थालेका छन् । उनले राजनीतिलाई पार्टीको पर्खालबाट निकालेर सिधा गाउँ–टोल, खेत खलियान, र जनताको मन–मस्तिष्कसम्म पुर्‍याएका छन् । यही सन्देश अहिले नेपालका तराई–मधेसका भू–भागमा पनि प्रभाव पार्न थालेको छ । जन सुराजको मोडल विशुद्ध रूपमा विकासमुखी, सहभागी र पारदर्शी राजनीति हो। कुनै राजनीतिक दलको छायामा होइन, जनताको साथमा बनेको यो अभियानले शिक्षा, स्वास्थ्य, भ्रष्टाचार, रोजगारी जस्ता आधारभूत विषयमा गहन संवाद सुरु गरेको छ । प्रशान्त किशोरको यो शैलीले नेपालको  तराई–मधेसमा पनि आम जनताको ध्यान खिच्न थालेको छ ।

विशेषतः युवापुस्ता बिच अब यस्तो प्रश्न उठ्न थालेको छ ? "हामीकहाँ पनि यस्तो राजनीतिक मोडल किन नहोस्?" नेपालको तराई–मधेसका धेरै भूभागमा विगत दशकदेखि एउटै राजनीतिक अनुहार, उस्तै भाषण र उही असफलता दोहोरिइरहेकै छन् ।अधिकारका नाममा राजनीति गर्नेहरू आफैँ विशेषाधिकारको जालमा फसेका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी जस्ता विषयमा सुधारको साटो वाचा र नारामै राजनीति अडिएको छ ।

यस सन्दर्भमा प्रशान्त किशोरको राजनीति एउटा चेतनामूलक झट्का जस्तै देखिन थालेको छ । उनको नम्रता, स्पष्ट दृष्टिकोण, र गम्भीर ढङ्गले जनसंवाद गर्ने तरिकाले नेपाली युवामा पनि अब राजनीति केवल "पावर लिने माध्यम" होइन, सेवाको माध्यम बन्न सक्छ भन्ने विश्वास पलाएको छ ।

सिमाना सँगै रहेका गाउँहरू—जस्तै बिहारसँग जोडिएका नेपालका बारा, पर्सा, रौतहट ,सर्लाही, महोत्तरी लगायतका जिल्लामा अब जनस्तरमा राजनीतिक बहस र वैकल्पिक सोचहरू उठ्न थालेका छन् । "हामीले पनि नेता होइन, नीति खोज्ने समय आएको छ" भन्ने स्वरहरू बलियो बन्दै गएका छन् ।

यस चेतनाको फैलावट लोकतन्त्रको स्वस्थ सङ्केत हो । तर यसलाई कार्यान्वयनमा रूपान्तरण गर्न स्थानीय युवाहरूको जागरण र सङ्गठन आवश्यक छ । अब प्रश्न हामीमाथि छ ? के हामी यो चेतनालाई केवल हेरिरहन्छौ, वा यसबाट सिकेर आफ्नै समाजमा परिवर्तन ल्याउने नेतृत्व उठाउँछौँ ?

(लेखक एक सामाजिक अभियन्ता हुन् ।)

Back to top