×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा आज हुने सवारी कर र कवाडी कर सङ्कलन सम्बन्धी ठेक्कामा करोडौँ रुपैयाँ बराबरको अनियमितता हुने आशङ्का देखिएको छ।

विशेष स्रोतले यात्रा डेलीलाई जानकारी दिएअनुसार, सो ठेक्काका लागि ३५ जना ठेकेदारहरूले टेन्डर फारम भरेका छन् । तर, टेन्डर प्रक्रियामा सहभागिता जनाउने अधिकांश ठेकेदारहरूबिच पहिले नै आपसी मिलेमतो गरेर टेन्डर स्वीकृत गराउने तयारी गरिएको खुलेको छ ।

सूचनाअनुसार, ठेकेदारको हैसियत हिसाबले ठेकेदारहरूबिच २० लाखदेखि ५ लाख रुपैयाँसम्म नजराना बाँडफाँडको सहमति भइसकेको छ।  

सोहीअनुसार टेन्डर पेस गरे पनि प्रतिस्पर्धा गर्ने नाममा केवल देखावटी प्रतिस्पर्धा गरी ठेक्का एक विशेष समूहलाई दिने पूर्व योजनाबद्ध प्रपञ्च रचिएको बताइएको छ ।

मिलेमतोमा आधारित ठेक्का प्रक्रिया अघि बढाइएमा वीरगञ्ज महानगरपालिकालाई उल्लेखनीय आर्थिक घाटा हुने जोखिम रहेको स्रोतको भनाइ छ ।

टेन्डरको मूल्याङ्कन र छनोट प्रक्रिया निष्पक्ष नभएमा सार्वजनिक स्रोतको दुरुपयोग हुने मात्र नभई स्थानीय सरकारको विश्वसनीयतामा समेत प्रश्न उठ्न सक्छ ।

Back to top