साङ्केतिक तस्बिर ।
वीरगञ्ज । मानिसको स्वास्थ्य र उत्पादकत्व एक अर्कासँग अन्तर सम्बन्धित हुन्छ । स्वस्थ मानिसले मात्र प्रभावकारी काम गर्न सक्छ उत्पादकत्व बढ्छ ।
स्वस्थ रहनका लागि थुप्रै कुरामा ध्यान दिनु आवश्यक हुन्छ । त्यसमध्येको एउटा हो पानी । मानिसको जीवनमा पानीको महत्त्व अत्यधिक हुन्छ । कैयौँ विश्वव्यापी मापदण्डहरूले प्रतिदिन महिलाले दुई लिटर र पुरुषले अढाई लिटर पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन् ।
पर्याप्त पानी नपिउँदा जल वियोजन अर्थात् शरीरमा पानी कम हुने अवस्था आउन सक्छ भने अति धेरै पानी पिउँदा पनि शरीरमा हानि हुन्छ । हाम्रो शरीरको तौलको झन्डै ६० प्रतिशत हिस्सा पानीले ओगट्छ । हाम्रा कोषहरू, अङ्गहरू, रगत र विभिन्न भागमा पानी हुन्छ ।
हाम्रो शरीरले निरन्तर पानी खर्च गरिरहेको हुन्छ । पसिना, पिसाब र श्वासप्रश्वासका माध्यमबाट पनि पानीको मात्रा घटिरहेको हुन्छ । हामीले पिउने पानीको मात्रा शरीरबाट गुम्ने पानीको मात्राभन्दा कम भयो भने जल वियोजनको अवस्था उत्पन्न हुन्छ ।
यसले विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । छोटो समयमा अत्यधिक पानी पिउँदा हाइपोनेट्रेमिआ अर्थात् सोडिअम घटेको अवस्था उत्पन्न हुन सक्छ । त्यसलाई ‘वाटर इन्टक्सिकेशन’ अर्थात् जलोन्माद पनि भनिन्छ ।
स्वास्थ्यसम्बन्धी धेरै आधिकारिक निकायहरूले स्वस्थ रहनका लागि दैनिक ६ देखि ८ कप पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन् ।