वीरगञ्ज। वीरगञ्जमा शिक्षा क्षेत्रमा २५ वर्षको लामो अनुभव सँगालिसकेको वीरगञ्ज पब्लिक कलेजले नयाँ शैक्षिक सत्र २०८२ देखि ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ।
आज एक पत्रकार सम्मेलनमार्फत कलेजका क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठले आधुनिक सूचना प्रविधिको माग र अवसरलाई दृष्टिगत गर्दै पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर बीआईटी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो।
२०५७ सालमा स्थापना भएको कलेजमा हालसम्म प्लस टु, बीबीए, बीआईएम, बीबीएस, एमबीए, एमबीएस, एसीसीए लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। कलेजले युगसापेक्ष तथा रोजगारीमूलक शिक्षा दिनुको लक्ष्यसहित बीआईटी कक्षा थपेको हो।
सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले प्रारम्भिक चरणमा ४८ जना विद्यार्थी भर्ना हुने व्यवस्था गरिएको जानकारी दिनुभयो। आर्थिक रूपमा कमजोर तर इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
बीआईटी कक्षामा एकै पटक ४८ विद्यार्थीलाई सिकाउन सकिने सुसज्जित कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब, आइटीओ ल्याब लगायतका प्रयोगशालाको स्थापना गरिएको कार्यक्रम संयोजक इन्जिनियर जय किसन सहनीले जानकारी दिनुभयो।
कुल चार वर्षमा आठवटा सेमेस्टर रहने बीआईटी कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई पुस्तकालयमार्फत पाठ्यक्रमअनुसारको पुस्तक उपलब्ध गराइने व्यवस्था गरिएको कलेजले जनाएको छ।
कलेजले पछिल्लो समय सूचना प्रविधिप्रतिको विद्यार्थीहरूको आकर्षण वृद्धि भएको भन्दै बीआईटी कार्यक्रमले उनीहरूलाई आधुनिक प्रविधिमा दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
वीरगञ्जमा प्रविधिमूलक उच्च शिक्षाको क्षेत्रमा यो कदमले विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय शिक्षा हासिल गर्न अवसर दिने अपेक्षा गरिएको छ।