×

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौकमा गएराति एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। अज्ञात समूहले ८० वर्षीय फनिलाल यादवलाई घरमै सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या गरेको हो।

पारिवारिक स्रोतका अनुसार यादवलाई बिहान अबेरसम्म नउठेपछि झकझकाउन खोज्दा गम्भीर घाइते अवस्थामा फेला पारिएको थियो। उनलाई तत्कालै लहानस्थित प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारको क्रममा मृत्यु भएको हो।

मृतक फनिलाल यादव लहान–२४ का पूर्ववडाध्यक्ष कमलदेव यादवका पिता हुन्। परिवारका जेठा छोरा कपिलदेव यादवले घटना लगत्तै प्रहरीलाई खबर गरिएको भए पनि प्रहरी समयमै नआएको गुनासो गरेका छन्।

प्रहरीको ढिलासुस्तीप्रति आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए। उनीहरूले हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता वीरेन्द्रकुमार पासवानले घटना गम्भीर रहेको भन्दै अनुसन्धान भइरहेको जानकारी दिएका छन्। हत्यामा संलग्न व्यक्तिको खोजी तीव्र रूपमा भइरहेको जनाइएको छ।

Back to top